राजनीति

फ्लोर क्रस गर्ने सांसद देवकोटालाई निलम्बनको तयारी

गण्डकी प्रदेश सरकार पुनः अल्पमतमा पर्ने अवस्था देखापरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पार्टीको निर्देशन विपरीत मतदान गरेका फणिन्द्र देवकोटा निलम्बन हुने भएपछि सरकार अल्पमतमा पर्ने देखिएको हो ।

नेकपा माओवादीको चुनावचिन्हमा प्रदेशसभा सदस्यमा निर्वाचित देवकोटाले पाण्डेलाई विश्वासको मत दिएसंगै ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त हुनुभएको थियो ।

देवकोटालाई नेकपा (माओवादी केन्द्र)ले ‘फ्लोर क्रस’ गर्दै विश्वासको मत दिएर ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरी पदमुक्त गरिएको घोषणा गर्ने तयारी गरिएको छ।

शुक्रबार नै गण्डकीमा नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने कार्यसूची छ । नीति तथा कार्यक्रमपछि नै सभामुखले पद रिक्त भएको पत्र वाचन गर्ने सम्भावना रहेको छ ।

तर, देवकोटा साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी भए पनि आफ्नो दल नेपाल समाजवादी पार्टी रहेको र माओवादीले कारबाही गर्न नपाउने तर्क गर्दै आएका छन् ।

जेठ २८ गते मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदा माओवादी र एमालेले विपक्षमा मतदान गर्ने निर्णय गराएका थिए । तर, देवकोटाले पाण्डेलाई मत दिए ।

लगत्तै माओवादी संसदीय दलको बैठकले देवकोटाविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताएको थियो । माओवादीले सुरुमा स्पष्टीकरणदेखि पार्टी केन्द्रीय कमिटीलाई कारबाहीका लागि पत्राचार गर्‍यो । सोहीअनुरूप उनलाई कारबाही गरिएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

माओवादीले उनलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ अनुसार कारबाही गरेको हो । जहाँ भनिएको छ, “संसदीय दलका नेताको निर्देशनबमोजिम त्यस्तो दलको सचेतकले देहायका प्रस्तावमा संघीय संसद्को कुनै सदन वा प्रदेशसभामा हुने मतदानमा त्यस्तो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलको सदस्यलाई निर्देशन ‘ह्विप’ जारी गर्न सक्नेछ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.