जल/वातावरण

सिथी नखः – विश्व पानी दिवस र हाम्रो संस्कार

नेपालको हरेक चाड, पर्व, संस्कृति प्रकृतिसंरक्षण र मानव हितमा समर्पित छ । किनभने प्रकृतिको संरक्षण गरे मात्र मानव जीवन सहज हुन्छ भन्ने शास्त्रीय मान्यतालाई धर्मकै रुप दिएर नेपालीहरुले यस्ता पर्वहरु मनाउन थाले । जुनसुकै जातको किन नहोस् नेपालभित्र मनाइने हरेक पर्वहरु नेपालीको हो र यसले सिंगो देशको हितमै काम गरेको हुन्छ र समग्र मानव समाजको हितको सन्देश दिएको हुन्छ ।

यस्तै प्रकृति संरक्षण र मानव हितसंग जोडिएको राजधानी काठमाडौं उपत्यकाको रैथाने पर्व हो सिथी नखः । यो दिन पानीका स्रोत र मुहानहरुको सफाई गरिन्छ । हाम्रो विडम्बना के रह्यो भने हजारौं वर्षदेखि सिथी नखःले पानीका मुहान सधैं सफा राख्नु पर्दछ भनेर पानी दिवसकै रुपमा मनाइयो तर आधुनिक समयमा पश्चिमाले पानी दिवस भनेपछि त्यसको पछिलाग्दा हामी सांस्कृतिक अतिक्रमणको शिकार भैयौं । सिथी नखःलाई औपचारिकता निर्वाह र भोजभतेरमा मात्रै सीमित गर्यौ ।

जलस्रोतले सम्पन्न देश भएर पनि होला हिमालयदेखि निसृत हुने सदावहार नदीसंगै भूमिगत जलसमेत पर्याप्त भएकाले यहाँ हराजौं वर्षअघिदेखि पानीका स्रोत संरक्षण र यसको सरसफाई गर्ने पर्व नै मनाउने चलन रहिआएको छ । विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायले जेष्ठ शुक्लपक्षको षष्ठी तिथिमा मनाउने पर्व सिथी नखःको विशेषता पानीका मुहान र स्रोत सरसफाई गर्नु हो ।

आजभोलि अव्यवस्थित शहरीकरणले गर्दा यहाँ भएका ढुंगेधारा, इनार तथा कुवा र पोखरीहरु मासिएर घरघरमाा धारा र जारमा भरएका पानीका भाँडा आउने हुँदा पानी सफा गर्ने काम त्यति नहुने भए पनि यो पर्व मनाउन छाडिएको छैन । आज त्यही पानी दिवस (सिथी नखः) परेको छ र यो पर्व देशभरिका नेवार समुदायले मनाइरहेका छन् । नेपालमा लिच्छवीकालदेखि सिथी नखः पर्व मनाएर पानीको महत्व र त्यसको स्रोतको संरक्षणबारे मानिसलाई सचेत गराउने कार्य हुँदैआएको संस्कृतिविदहरु बताउँछन ।

सन १९९३ बाट विश्वमा जलवायु परिवर्तनका कारण वातावरणमा पर्न गएको दुष्प्रभावले खानेपानीको अभाव हुँदै गएपछि यसको संरक्षणका लागि विश्वव्यापी अभियानको सुरुवात भयो । संयुक्त राष्ट्रसंघले सोही वर्षको मार्च २२ लाई पानी दिवस मनाउने घोषणा गरेदेखि हरेक वर्ष पानी दिवस मनाउने गरिन्छ ।

यो दिवसमा पानीको महत्वबारे र यसको संरक्षणका गगनभेदी नारा घन्कन्छन्, पानीको स्रोतहरुको संरक्षण र स्वच्छ पानी कसरी उपलब्ध गराउने भन्ने योजना बन्दछ । तर पानीको स्वच्छता, संरक्षण र महत्व दर्शाउने हाम्रा शास्त्रीय पर्वहरुको भने पर्वाह गरिंदैन । यो अर्को दुर्भाग्य हो ।

उपत्यकाको मौलिक संस्कृति यहाँका रैथाने नेवारहरुको धरोहर हो । अथाह सांस्कृतिक भण्डार रहेको नेवार समुदायले मनाउने अनगिन्ती पर्वहरुको तुलनामा सिथी नखः फरक छ । प्रायःजसो चाडपर्वह नेवारहरूको सामूहिक भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । अति यही दिन कुलदेवताको पूजा पनि गरिन्छ ।

केही दशकअघिसम्म उपत्यकामा सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन थियो र अझै पनि बाँकी रहेका त्यस्ता सम्पदाहरुको सरसफाई गर्ने गरिन्छ । हिउँद सकिएर वर्षा याम सुरु हुने बेला पर्ने सिथि नखः मनाउनुको कारण इनार, कुवा सफा गर्न सजिलो हुने हुँदा यसलाई ऋतुहरुको चयन समेत अत्यन्त वैज्ञानिक मानिएको छ ।

किनभने लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुन्छ । सिथि नखःका दिन मुहान सफा गयो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास छ । सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ ।

पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ । त्यसो त सिथि नखः को दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउ लगायतका दालहान पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी आदि पकवान पकाएर खाने चलन छ ।

यसरी मनाइन्छ पर्व

ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ । सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ । यस दिन विषेश गरी कुमारलगायत सबै देवीदेवतालाई मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः (बारा) चतामरी, मालपुवा, आरुबखडा, काँक्रो र सचुं(भुटेको नयाँ गहुँको पिठो र चिनीबाट बनेको विशेष प्रकारको रोटी) चढाउने र आफूले पनि भोजन गर्ने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ । गहुँ भित्र्याइने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ ।

चाडपर्वका नाममा ऋतुअनुसारको पकवान खान सिपालु नेवार समुदायले यस दिन वः, चतामरी र सचुंको भोजन गरेर शरीरलाई वर्षा खप्न सक्ने बनाउने संस्कृतिकर्मीहरु बताउँछन् । धान खेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । बर्सातको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःका दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चतामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रापाइँ) शुरु हुने भएकोले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।

सिथि नखःले दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा डा श्रेष्ठ बताउनुहुन्छ । “पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा पनि धार्मिक महत्व रहेको छ । गणेश देवताहरुका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवीदेवतामध्ये सबैभन्दा पहिला पूजा गरिने कुमारको पूजा आराधना गर्नाले बर्सातको बेला धान रोपाइँ जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ”, उहाँले भन्नुभयो ।

नेवार समुदाय कला, संस्कृति र सांस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरि अनेकथरी कला, सांस्कृतिक झाँकी र सांस्कृतिक चाडपर्व मनाउने गर्दछन् तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन् ।

नेवारीमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवसरमा किसानहरुलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिकरूपले पनि तयार पार्ने चाडका रूपमा सिथि नखःको विशेष महत्व रहेको प्रा डा श्रेष्ठको कथन छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button