मेलम्ची र हेलम्बुमा बाढी पहिरोको बितण्डा
सोमबार साँझदेखि भएको अबिरल बर्षाका कारणसिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुगेको छ । यो समाचार तयार पार्दासम्म कम्तिमा चार जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ । त्यसै गरी सो क्षेत्रमा विद्युत अबरुद्ध भएको छ भने यातायात सम्पर्क बिच्छेद भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले बाढीले तीन पुरुष र एक महिला बेपत्ता भएको जानकारी दिनु भयो । उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ । यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले प्रहरीले बताएको संख्याभन्दा धेरै हताहती भएको बताउने गरेका छन् ।
बाढीले मेलम्ची बजार डुबानमा परेको छ भने मेलम्चीदेखि माथिको राजमार्ग खण्डहरु बगाएको छ । सो कारण सडक सम्बन्ध बिच्छेद भएको छ । बिद्युत आपूर्ति बन्द भएको छ ।
मेलम्ची खानेपानीको मुहान अम्बाथानतिरबाट बाढी उर्लिएर आएको र नदी किनारका बस्तीमा क्षति पुर्याएको छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँहरुको क्याम्प र आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको क्याम्पमा पनि क्षति पुगेको स्थानीयको भनाइ छ । हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु र किउलमा रहेको ट्राउट माछा फार्म बाढीले बगाएको छ ।
हेलम्बु गाउँपालिकाको चनौटे बजार, किउल, तालामाराङ, ग्याल्थुम, तिपेनी हुदै मेलम्ची बजार डुबानमा परेका छन् । इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पुल बगाएको छ । स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । मेलम्ची माथिका सबै झोलंगे पुल बगाएका छन् ।
प्रहरी घटना स्थलमा पुगेको छ । जनधनको के कति क्षति भयो भन्ने बारे थप बिबरण केही समयपछि आउने एसपी अधिकारीले बताउनु भयो ।
प्रहरीका अनुसार अहिले पनि लेदो र ठूला ढुंगासहितको पहिरो झर्ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ ।
प्रतिक्रिया राख्नुहोस्