स्वास्थ्य

दुई हजार आठ सय २८ जना संक्रमित, ५२ जनाको मृत्यु

नेपालमा केही दिनयता कोरोना संक्रमण दर कम हुँदै गएको छ भने निको हुनेको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु र ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस अवधिमा १३ हजार २२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार परीक्षण गरिएकामध्ये ४ हजार ३ सय ३५ परीक्षण एन्टिजन विधिबाट गरिएको हो ।

यससँगै नेपालमा संक्रमितको कुल सङ्ख्या छ लाख ३७ हजार नाघेको छ भने मृतकको सङ्ख्या ८,५५८ पुगेको छ । पुष्टि भएका संक्रमितमध्ये अहिलेसम्म ८८.५ प्रतिशत निको भइसकेका छन् ।

नेपालका कुल संक्रमितमध्ये ७९ प्रतिशत २० देखि ५९ वर्षका, ११ प्रतिशत ६० वर्षभन्दा माथिका र नौ प्रतिशत १९ वर्षसम्मका रहेका छन् । असार १ गतेसम्म ४३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् जुन तुलनात्मक रूपले घट्दै गएको देखिन्छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये अहिले ९०२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २७९ जना भेन्टिलेटरमा छन् ।

यसबीचमा अहिले संक्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै रहेको छ । बुधवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै ३ सय ५४ जना काठमाडौंका रहेका छन् ।

मन्त्रालयका हाल काठमाडौंमा ७ हजार ३ सय ३७, ललितपुरमा ३ हजार ५७ र भक्तपुरमा २ हजार ३ सय २८ सक्रिय संक्रमित रहेका छन् । बुधवार धेरै सङ्ख्यामा संक्रमण पुष्टि भएका अन्य जिल्लाहरूमा झापामा २३२, मोरङमा १६५, सुनसरीमा १५१, धादिङमा ११३ र बाग्लुङमा ११४ रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button