राजनीति

संसद् बैठकमै कर्मचारीले बिरोध गरे कालोपट्टी बाँधेर

सङ्घीय संसद् सचिवालयका कर्मचारी विभिन्न माग राखी आन्दोलनमा उत्रिएका छन् । जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएका कर्मचारीले संसद् बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।

आन्दोलन जारी रहेपछि माग र आन्दोलनका विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रम्ुख सचेतक/सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा सुरु भएको छ ।

छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति रहेको छ । हाल संसद् सचिवालयमा तीन सय ९० कर्मचारीका कार्यरत छन् ।

सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी आन्दोलनमा छन् ।

यस्ता छन् कर्मचारी युनियनका मागहरू

१. संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने ।

२. संघीय संसदका कामकारवाही तोकिएको कार्यालय समयभित्र मात्र सञ्चालन नहुने भएकाले सचिवालयमा कार्यरत कर्मचारीहरूले अतिरिक्त समयमा समेत काम गर्नुपर्ने अवस्था रहेको छ। नेपाल ILO Convention. 1930 को पक्षराष्ट्र भएकाले उक्त Convention को Number 30 को Article 3 को व्यवस्था वमोजिम अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने ।

३. सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८० साउन १८ गतेको निर्णयानुसार गठित समितिहरूले पेश गरेका प्रतिवेदनहरू आवश्यक परिमार्जनसहित यस आ.व भित्रै स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने ।

४. सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले नियमावलीमा संशोधन गरी सचिवालयमा स्थायी दरवन्दीमा कार्यरत रहेका वि.सं २०५९ देखि तलबमान कायम हुन नसकेका हलुका सवारी चालक तथा कार्यालय सहयोगीहरूको छैटौं तहको तलबमान कायम गरिनु पर्ने । सो गर्न नसकेमा अवकाश हुनुभन्दा एक महिना अगावै हलुका सवारी चालकलाई हेभी सवारी चालक तथा कार्यालय सहयोगीहरूलाई राजपत्र अनङ्गित द्वितीय श्रेणीमा बढुवाको सुनिश्चितता गर्नुपर्ने ।

५. संघीय संसदका पदाधिकारीहरू तथा सदस्यहरूको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनु पर्ने तथा समिति तथा उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनु पर्ने ।

६. संघीय संसद सचिवालय सम्बन्धी ऐन २०६४ को दफा १३ मा उल्लिखित “संघीय संसद विकास कोष” सम्बन्धी व्यवस्था कार्यविधि बनाई तुरुन्त कार्यान्वयन गर्नु पर्ने ।

७. संघीय संसद सचिवालय सम्बन्धी ऐनको दफा १०६ मा रहेको “कर्मचारी कल्याण कोष” को तत्काल स्थापना र सञ्चालन गर्न समिति गठन गर्नुपर्ने ।

८. संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को नियम ११२ को व्यवस्थालाई मापदण्ड बनाई स्पष्ट र व्यवहारिक सूचकहरूका आधारमा कार्यान्वयन गर्नुपर्ने

९. संघीय संसद सचिवालयमा प्राविधिक समूहमा कार्यरत कर्मचारीहरूका लागि प्राविधिक ग्रेड, जोखिमभत्ता तथा विशेष विमाको व्यवस्था गर्नुपर्ने ।

१०. संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावलीको नियम १३१ को उपनियम २ मा भएको बिमाको व्यवस्थालाई सम्पूर्ण कर्मचारीहरूका लागि एकरुपताको व्यवस्था गर्नुपर्ने ।

११. सचिवालयमा कार्यरत करारका कर्मचारीहरूलाई बजेट प्रोत्साहन तथा नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.