जापानबिचार

परदेशको दुःख, संघर्ष अनि सफलता

चारैजना नेपालीको आत्मालाई शान्ति मिलोस्। हार्दिक श्रद्धाञ्जली!

जापानमा दुई साताको अवधिमा चार जनाको दुखद निधन भयो। दुईजनाले आफैँ मृत्यु रोजे भने अरू दुईजना बाँच्ने रहर हुँदाहुँदै पनि संसारबाट विदा भए। भाइ सुरेश गौतमको कति सपना थिए होलान्। फोटोग्राफीमा रूचि भएका भाइ सुरेशलाई बचाउन पाएको भए! परिवारले बचाउन र भाइ आफैँले पनि लाख प्रयास गर्दा उपाय लागेन।

चारैजना नेपालीको आत्मालाई शान्ति मिलोस्। हार्दिक श्रद्धाञ्जली!

यो बेला मेरो जापान बसाइको २४ वर्षको अवधिमा मित्र, छिमेकी, अभिभावक सबै नेपाली सम्झिएँ जसले जापानमै प्राण त्यागे। आज सबैलाई सम्झँदै लेखिरहेको छु– यसको अर्थ हो, म जीवितै छु।

साँच्चै, थाहा छैन बेलुका सुतेपछि बिहान आँखा खुल्छन् कि खुल्दैनन्। यदि खुले भने ए, ल…आज पनि जिउँदै रहेछु भनेर नित्यकर्म सकेर काममा जाने। एक कप चिया पिएर जाने। खाना बनाएर खाने फुर्सद कतिखेर होस्।

भोकै काम गर्यो, बल्ल दिउँसो पेटभर खायो, सुत्यो। अनि बेलुका काम सकेर पनि पेटभर खायो लुपुक्कै सुत्यो। दिनचर्या यस्तै हुन्छ यहाँ हाम्रो विशेष कुक लाइनमा।

जानी जानी मर्ने रहर कसैलाई हुँदैन
परदेशीको पीडा बुझ्न कोही आउँदैन।

वास्तवमै चार चार फरक घटनाले मलाई धेरै सोच्न बाध्य बनायो। सधैँझैँ दुई शब्दले मात्र श्रद्धाञ्जली दिएर हैन यसपटक हामी बाँचेका नेपालीले ढुक्कले बाँच्न कसरी सकिन्छ। आजसम्म जीवित रहेकाहरूको जीवन जोगाउने तिर मन लगाएर शोकलाई शक्तिमा बदल्ने प्रयास नेपाली दाजुभाई दिदीबहिनी मिलेर गर्नुपर्छ भनेर आफ्ना अनुभवहरू शेयर गर्ने प्रयत्न गरेको छु।

दिपेन्द्र अधिकारी

मानवीय सम्वेदनशीलता, भोग, रोग, भोक, प्यास, अभावले मानिसलाई कतिसम्म पीडित बनाउँदछ। यसवाट छुटकारा पाएर स्वस्थ, आनन्द, शान्ति, माया, प्रेम, एकताको संसार बनाउने अघिकार के हामी मानिसलाई छैन? के भगवान स्वयंले अवरोध गरेका छन्?

सामाजिक प्राणी हामी कसरी भौतिक द्वन्द्ववादको बाटो भएर मानव समाज हिँडाउँछौ! संघर्षको नाममा गोली बारूदले, षड्यन्त्र गरेर, काल गतिले, सवारी दुर्घटना, हेलचेक्र्याइँ, प्राकृतिक प्रकोप, गरिबी, महामारी, रोग, आत्महत्या। अनेक कारणले जान्छ मानिसको ज्यान। जे जसरी प्राण गए पनि सबै मृत्यु दुखद हुन्।

मानिस एक जैविक प्राणी हो। पशुपक्षी, जलपंक्षी, वनस्पति आदिसँग तुलना गरेर हेर्दा पनि जहाँ जन्मियो सोही ठाउँ नै जीवन यापनका लागि उत्तम हुन्छ। नेपालमा उम्रेको बिरूवा जापानमा, क्यानाडा अथवा अन्य मुलुकमा ल्याएर रोपियो भने हुर्काउन धेरै मेहनत गर्नुपर्छ। कमजोर बनेर हुर्कन्छन्। जहाँ उम्रियो त्यहीँ हुर्कदै पूर्ण जीवन बिताउन पाउने हो भने कति निरोगी हुने थियो।

त्यस्तो अवस्थामा कति धेरै उपलब्धिहरू पनि हासिल गर्न सक्थ्यो होला। यस हिसावले नै हो पक्कै पनि मानिसको आ–आफ्नै सभ्यताअनुसार आफ्नो देश आफ्नो गाउँ प्यारो लाग्ने। ‘जहा पुगे पनि फर्की आउन मन लाग्छ आफैँ जन्मिएको ठाउँ’ प्राय मानिसले एउटै सोचिरहेको हुन्छ।

हामीलाई किन विदेशिन पर्छ?
कारण धेरै छन् अभाव मात्रै हैन।

उच्च शिक्षा, उच्च आम्दानी, घरदेशमा बस्ने इच्छा नहुनु, छिमेकी साथीभाइको देखेर उसै गर्न मन लाग्नु, ब्यावहारिक शिक्षा नहुनाले आफूलाई मन परेको काम र दाम नमिल्दा देशमा बस्न मन मानेको हुँदैन।

मध्यमदेखि धनी परिवारका मानिस जापान, अमेरिका, युरोप आउने गर्छन्। मध्यम वर्गका पनि ‘मध्यम’ हरू खाडी देशतिर। विपन्न परिवारका त मुस्किलले भारततिरै जाने चलन छ भन्दा पनि हुन्छ।

हङकङको लाहुरे, ब्रिटिश लाहुरे, इण्डियन लाहुरेहरूबाट भित्रिएको चलन हो। देशमा परिवर्तनको नाममा क्रान्ति, आन्दोलन, अस्थिरताले खासै २५, ३० बर्षमा देशले फड्को मार्न पर्ने हो तर वाक स्वतन्त्रताबाहेक बाँकी उपलब्धि न्यून देखिएका कारण फरक कारणहरुले विदेशित बाध्य पारेको छ।

धेरै मानिस परिवारबाट टाढा बस्नु पर्ने बाध्यता, युवा जोडी भर्खर विवाह गरेर सँगै बस्न नपाउँदा कस्तो मनोवैज्ञानिक असर पर्छ, कसरी स्वस्थ्यमा असर परेको हुन्छ अनुमान गर्न सकिने कुरा भयो। आजकल त झन् युवा जोडी छोराछेरी भएपछि तिनलाई हजुर आमा,बालाई जिम्मा दिएर कमाउन विदेशिने चलन बढ्दो छ। यसले झन् कस्तो मनोवैज्ञानिक असर पर्ला आमा र बच्चाबच्चीलाई?

धेरै समस्याहरूसँग जुधेर पनि विदेशिन चाहने मानिसको अर्को स्वभाव पनि हो- सपना। सपना देखेपछि भुइँमा खुट्टा हुँदैन। परदेशको राम्रो कुरा मात्रै सुन्न मन लाग्छ। नराम्रो कुरा सुन्नै मनले मान्दैन। यस्तै मनोविज्ञान वुझेरै व्यापारीले कुनै विज्ञता, रूचिको अनुसन्धानै नगरी पैसा बुझाउन सक्ने जो भए पनि हल्का काम सिकाएर कुक भिसा, स्टुडेन्ट भिसा र अन्य भिसामा विदेश पठाइदिने गर्छन्।

कमसेकम भाषाको तालिम र आफ्नो रूचिको विषयमा दक्षता थप गरेर, निश्चित योजना योजना बनाउन सरकार र एजेन्सीहरूले सोच्न पर्छ। नत्र दुखः पाउनकै लागि मात्र विदेश आएको जस्तो हुन्छ।

परदेश रहरमा आइन्छ। आइसकेपछि महसुस हुन्छ, आफूसँग न भाषा छ, न कुनै सीप। मात्र सपना छ। त्यो सबै जापान या अन्य मुलुक आएपछि हराउँदछ। यस्तो अवस्थामा फ्रस्टेसन सुरू हुन्छ।

धन्न स्वच्छ हावापानीमा हुर्किएका हामी नेपाली भएकै हुनाले परदेशी जीवनशैलीमै पनि संघर्ष भने गरिरहेका छौं। सबैले दुःख पाउने भन्ने अवश्य होइन। सफलता हातमा पार्ने पनि थुप्रै छन्। सफलता प्राप्त गर्ने सबै खुसी छन् त? यो अलग विषय हो।

कतिपय आफ्नो कमजोर देखाउन नमान्ने, अरूलाई दुःख देखाउन नमानी घरपरिवारमा छलफल पनि नगर्ने। भाषिक ज्ञानको अभावमा मन परेको काम गर्न पाउँदैनौं। जसले गर्दै विस्तारै आत्मबल, रूचि, देखेको सपना कमजोर हुँदै जान्छन्। यसले निरासा निम्त्याउँछ। निरासाले अनेक खाले संकट जन्माउँछ। यस्तै अवस्थाबाट पिरोलिएका कतिपयले आफूलाई नै अन्त्य गर्ने ‘आँट’ गरेका होलान्।

खानेकुराको तालमेल, हाँस्ने, खेल्ने, बोल्ने साथीको अभाव, पैसा, बचतमा मात्र ध्यान्न। आफ्नो मनोरञ्जनका लागि न समय, न पैसा खर्च गर्ने, न साथीबीच रमाइलो। तनावबाट छुटकारा लिन खैनी, सूर्ती, चुरोट, रक्सीको पनि सहारा लिनेहरु पनि धेरै पाइन्छन्।

भर्खर जापान आएको केही देनमै आत्महत्या गर्ने विद्यार्थीले वास्तवमै धेरैको ध्यान तानेको छ! किन? कमसेकम तीन महिना त कामै नगरे पनि विद्यार्थी बाँच्न सक्ने योजना त हुनुपर्ने। किन भएन होला? के अभाव नै कारण हो? भनेजस्तो नहुँदा धोका महसुस गरेर आफैंलाई सजाय दिएका हुन् कि? तिनको मनको कुरा उनैसँग् गयो, कसैले बुझ्न पाएन।

विदेशमा हामी नेपालीले अब के गर्ने? नेपाल सरकारलाई दोष दिएर, परिवारलाई दुःख दिएर अर्थ छैन। बेलैमा आफैंले सोच्नु उत्तम हुन्छ।

आरामले सुतेको मान्छे उठेन भने नउठ्नेलाई त के भयो र सांसारिक पीडाबाट मुक्ति पायो। तर सोचौं त बाँचेका परिवार, बालबच्चा को हालत के होला? हो मृत्यु एउटा सत्य कुरा हो। तर कालले हामीलाई चाहेको बेला लैजाने हो कि हामी आफैंले बोलाएर काल लिन आएको छ? प्रायः हाम्रो चेतनाको अभाव, हेलचेक्र्याइँ, सामाजिक दोष, कमजोर मन, जन्मँदै कमजोर स्वास्थ्य, गरिबी, सपना आदि कारण हुन सक्छन्।

मानिस कमजोर प्राणी होइन। संसारकै जैविक प्राणी मध्य सबैभन्दा शक्तिसाली ‘गड गिफ्ट’ हौं। हाम्रो शरीरभित्रै सबै कुराहरूसँग लड्न सक्ने क्षमता प्रकृतिले दिएको छ। हामी आफू दैनिक खानेकुरामा, रहनसहनमा होसियारी भए पुग्दछ।

संघर्ष गरे सफलता पाउन सहज हुन्छ। दुःख पनि खप्नुपर्छ यसका लागि। तर निरासा भन्ने चिज आफूमा आउन नदिनु नै सबैका लागि उपयुक्त हुन्छ। काम प्राथमिकतामा पर्छ नै। तर बेला बेला मनोरञ्जनका कुराहरुमा पनि आफूलाई राख्नुपर्छ।

यसका लागि राम्रो तरिकाले सामाजिक सञ्जाल प्रयोग गर्न सकिन्छ। लेख, कविता, गीत पढ्ने सुन्ने गर्दा सिर्जनशील भइन्छ। राम्रा कुराहरू शेयर पनि गरौं। यसले गर्दा धेरै जानकारीसँगै आत्मबल पनि बढ्छ। राम्रो विषयबस्तु धेरै सेयर गर्ने निस्किए गलतहरू सामाजिक सञ्जालबाट विस्थापित हुन्छन्। यसबाट धेरैजनासँग जोडिएर आफ्ना भावना साझा गर्न सकिन्छ।

विदेशमा सबै नेपाली नेपालका अनौपचारिक ‘दूत’ हौं। हाम्रो पनि जिम्मेवारी रहन्छ नेपाल र नेपालीकै बारेमा सोच्ने, सहयोग गर्ने। विदेशमा नेपालीको छवि राम्रो बनाउने।

मानिसले आत्महत्या गरिबी कारणले मात्र गर्दैन। गरिबसँग संघर्ष गर्ने अद्भूत शक्ति हुन्छ। तर लक्ष्य नहुन सक्छ। यस्तो अवस्थामा जताततै अन्धकार, निरासा देख्छ। बाँच्नुको उद्देश्य देख्दैन। निरासाले बाँच्न मन दिँदैन। भनेजस्तो नहुँदा विकल्प सोच्ने विवेक आउँदैन।

मेरो कर्म भूमि जापानमा पनि आत्महत्याको तथ्याङ्क धेरै छ। कारण अभाव होइन। ज्यादा प्राप्तिको कारण। प्रतिस्पर्धामा हार स्वीकार गर्न नसक्नु, जित्न पनि नसक्नु। धोका पाउँदा कारण महसुस गर्न नसक्नु। सामाजिक प्राणी मानिस भएर पनि रोबोट जस्तै हुँदा आफूलाई मार्न खोज्दा आफूभित्रको मानवले रोक्न नसक्नु।

विकसित देशको समस्या र हामी अल्पविकसिति देशको समस्या फरक हुन सक्छ। आत्महत्या रोज्नुका कारण पनि फरक हुन सक्छ।

हालै सालिकराम कँडेल र श्रीराम पौडेलले आफ्नो अन्त्य आफैं गरे। उनीहरुले किन मृत्यु रोजे? तर भाइ सुरेश गौतम कति बाँच्ने प्रयास गरिरहे तर बाँच्न सकेनन्। अर्को एकजनाले अकस्मात मृत्युवरण गरे। पृष्टभूमि बुझ्दा उनीहरुको आत्महत्याको कारण अभाव भन्ने लाग्दैन।

यस्ता घटनाको प्रमुख कारण अनुसन्धान गर्न सके भोलि हाम्रा भाइबहिनीलाई मृत्यु रोज्न पर्थेन कि? यस्ता घटना हुन नदिन हामी सबै मिलेर कम गर्न सक्छौं। सुझाव बरू १५/२० लाख ऋणमा जापान आउनभन्दा कृषि अथवा आन्तरिक–बाहिरी पर्यटन व्यवसायमा लाग्न सकिन्छ। आफ्नै देशमा केही गर्न हौसला, सुझाव, सहयोगको आवश्यकता छ। यसमा सरकारको महत्वपूर्ण भूमिका हुनैपर्छ।

सीप, ज्ञान, पैसा कमाएर भोलि आफ्मो देशमै लगानी गरेर सफल जीवन बनाउन सकिन्छ। म २४ वर्षअघि परदेशमा आएको हुँ। अरुलाई विदेश नआउनुस् त भन्न सक्दिन। निश्चित समयको उद्देश्य छ भने विदेश आएर उद्देश्य पुरा गर्नु नराम्रो होइन। आउनै परे आवश्यक सीप र ज्ञान हासिल गरेर मात्र आऔं। आत्मबल दह्रो बनाएर लक्ष्य प्राप्तिमा लागिपरौं। यसका लागि अनेक अप्ठ्याराहरुसँग लडेर सफलता प्राप्त गर्ने अठोट चाहिन्छ।

लेखक समसामयिक बिषयमा कलम चलाउनुहुन्छ ।

लेखक बाट थप लेखहरु : नेपालको अर्थतन्त्र र आन्तरिक पर्यटन

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button