जन सरोकार

उपत्यकामा अझै सहज हुने गरी निषेधाज्ञा थपिने, निजी गाडी चल्न दिने तयारी

कोरोना भाइरस संक्रमणमा न्यूनता आएसंगै राजधानी काठमाडौं उपत्यकाको जनजीवन विस्तारै सहज बनाउँदै लाने तयारीमा प्रशासन रहेको छ । असार ७ गते पछिल्लो निषेधाज्ञाको समय सकिंदै गर्दा थप निषेधाज्ञा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने गरी सहज बनाउने तयारी भएको हो ।

निषेधाज्ञा थप्नैपर्ने अवस्था अझै रहेको भए पनि पसलहरु विभिन्न चरणमा खोल्नेदेखि निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको समाचार छ । निजी गाडीहरुलाई जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भने भएको छैन ।

यसअघि सीसीएमसीले स्मार्ट लकडाउनको प्रस्ताव गरेको थियो भने काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएको छ ।

आइतबार बसेको डीसीसीएमसीको बैठकले निजी गाडीलाई खोल्न दिने तर मोडालिटीबारे टुंगिएको छैन । त्यस्तै डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ ।

तर प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस)सँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने भएकाले निषेधाज्ञालाई खुकुलो बनाउने मोडालिटीको अन्तिम टुंगो लागिसकेको छैन ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा सोमबारबाट सकिँदैछ । त्यसैले निषेधाज्ञा थपको निर्णय गर्न आइतबार साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button