राजनीति

बालेनले देखाएको उच्च राजनीतिक संस्कार

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका बालेन्द्र साह (बालेन)ले विजयी भएको दिनदेखि नै महानगरको समस्या समाधानमा दिएको चासो र यसअघि गरेको बाचाहरु नै समेटेर नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

आइतबार आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम ल्याउँदै उहाँले उच्च राजनीतिक संस्कार देखाउँदै अन्य दलहरुको घोषणापत्रका नीति तथा कार्यक्रमलाई समेत समेट्नुभएको छ ।

बालेनले छोटो अवधिमा चुनावी घोषणापत्रका वाचा र विभिन्न विज्ञ र सरोकारवालहरुको सुझावलाई समेटेर कार्यक्रम तयार मात्र गर्नुभएन कि वडाध्यक्षहरुबाट समेत सहयोग लिनसक्ने गरी नीति तथा कार्यक्रममा अन्य दलका कार्यक्रमलाई पनि स्थान दिनुभएको छ ।

स्वतन्त्र उम्मेदवालाई काम गर्न सजिलो छैन, दलहरुले सहयोग गर्दैनन् भन्ने चर्चाकाबीच बालेनले दलका घोषणापत्रलाई समेत समेटेर नीति तथा कार्यक्रम ल्याएपछि अब उहाँलाई काम गर्न रोक्ने गरी अबरोध खडा नहुने टिप्पणी समेत भएको छ ।

नीति तथा कार्यक्रममा पहिलो कर्तव्य काठमाडौंको इतिहास, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण रहेको जनाउनुभयो ।

काठमाडौंको फोहर व्यवस्थापनको दीगो र वैज्ञानिक व्यवस्थापन प्रस्थान विन्दु बनेको भन्दै सरल र सहज तरिकाको सेवा प्रवाहका लागि सूचना गर्ने र प्रविधिको उच्चतम प्रयोग, स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी काठमाडौंलाई बस्न योग्य सहर बनाउने ध्येयमा महानगर अघि बढेको उल्लेख छ ।

त्यस्तै नीति तथा कार्यक्रममा आन्तरिक सुशासन र सवल प्रशासनतर्फ नीति तथा कार्यक्रम निर्देशित रहेको भन्दै मेयर बालेनले जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरिएका छ ।

नीति ताथ कार्यक्रममा बालेनले भन्नुभएको छ, ‘शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपण, मानव अधिकार प्रवर्द्धन जस्ता विषयगत क्षेत्रहरुका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु ।’

बालेनले आफ्नो घोषणा पत्रअनुसार नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पुरा गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने कुरा नीति तथा कार्यक्रमै समेटेर अघि बढ्ने संकेत गर्नुभएको छ ।

काठमाडौं महानगरभित्र रहेका ‘बस स्टप’हरुमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने, नीति तथा कार्यक्रममा रहेका एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाउने लगायताका कार्यक्रम पनि उनका चुनावी वाचा हुन् ।

नीति कार्यक्रमभित्र अटाएको ७० वर्ष नाघेका नागरिकहरुको घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारले तोकेका औषधिहरु निःशुल्क उपल्ब्ध गराउन आवश्यक समन्वय गर्ने कार्यक्रम पनि बालेको घोषणपत्रमै थियो ।

सामुदायिक विद्यालयहरुको शिक्षकहरुलाई प्रविधिमैत्री सीप, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाई आदान प्रदानका गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा आएको छ ।

महानगर क्षेत्रभित्रका बिग्रेका ढल, बाटो थप क्षति हुन नदिन तथा तत्काल मर्मत सम्भारका लागि आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्तिसहितको सञ्चालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गर्ने नीति कार्यक्रममा उल्लेख गरेका छन् । घोषणापत्रमा समावेश भएको यो योजना बालेनले पहिलो कार्यपालिका बैठकबाटै निर्णय गराएर सुरुवात गनुभएको थियो ।

बालेनले महानगर क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संघसंस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने नीति पनि ल्याएका छन् । बोरिङ्ग गरी आएको स्थानमा रिभर्स बोरिङ्ग गर्ने कुरा उनले चुनावी दौरानमै चर्चा गरेका थिए ।

त्यस्तै नीति तथा कार्यक्रममा काठमाडौंमा हुने जात्रा, पर्वहरुलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने, इन्द्रजात्राका अवसरमा महानगरपलिकासँग भगिनी सम्बन्ध रहेका अन्तर्राष्ट्रिय सहरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुलाई आमन्त्रण गरी महानगरपालिकाको ऐतहासिक इन्द्रजात्रालाई विश्वस्तरमा पहिचान गराउने कार्यलाई निरन्तरता दिइने उल्लेख छ ।

निजी क्षेत्र र अन्य नगरपालिका समेतको लगानीमा उपत्यकाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारी साधानमा जीपीएस ट्र्याकिङसहितको सिसिटिभी जडान गर्ने कार्यक्रम पनि आएको छ ।

यात्रुहरुलाई विद्युतीय माध्यमबाट सवारी भाडा तिर्ने व्यवस्थाका लागि सहजीकरण गर्ने र सार्वजनिक तथा निजी सवारी साधनको चापलाई व्यवस्थित गर्न बहुतले पार्किङ निर्माणका लागि निजी क्षेत्रलाई सहुलियत प्रदान गर्ने कार्यक्रम पनि बालेनको घोषणापत्रमा आधारित हो ।

महानगरले विभिन्न राजनीतिक दलको चुनावमा गरेका राम्रा वाचाहरुलाई पनि नीति तथा कार्यक्रममा समेटेको छ। नेकपा एमालेले महानगरको प्रतिवद्धता पत्रमा सार्वजनिक गरेको सार्वजनिक जग्गाको संरक्षण र पार्क निर्माणलाई पनि नीति तथा कार्यक्रममा समावेश छ ।

एमालेको रिचार्ज काठमाडौैं नाराको पुनर्भरण योजना कार्यक्रममा आएको छ । महानगरले ल्याएको नीति कार्यक्रममा एमालेको प्रतिवद्धता पत्रमा लेखेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम समावेश गरेको छ ।

एमालेले प्रतिवद्धता पत्रमा उल्लेख गरेको फोहोरमैला व्यवस्थापनको ‘वेष्ट टु इनर्जी’लाई महानगरको नीति तथा कार्यक्रममा प्राथमिकताको साथ राखेको छ । यस्तै नेपाली कांग्रेसको सात संकल्प अनुसारका थुप्रै नीति र कार्यक्रमले पनि बजेटमा स्थान पाएका छन् ।

बालेनले महानगरको यसअघिको नेतृत्वले अघि सारेका कतिपय सकारात्मक कार्यक्रमलाई निरन्तरता पनि दिनुभएको छ ।

त्यस्तै नीति तथा कार्यक्रमले महानगर शिक्षा सुधार योजना घोषणा गरेको छ । स्थानीय पाठ्यक्रमको निरन्तर पठनपाठन गर्दै ११ वटा प्राविधिक विषयको अध्यापन भइरहेकोमा २ वटा थप गर्ने लगायत विषय समेटेको छ ।

सम्पदा तथा पर्यटन क्षेत्रअन्तर्गतका बौद्ध र स्वयम्भू स्तुपको व्यवस्थापन महानगर अन्तर्गत ल्याउन प्रयास गरिने लगायतका बुँदा छन् । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर, हिति, पोखरी, बहाल, बहिल आदिको संरक्षण गर्ने, जात्रा पर्व सञ्चालन जस्ता अमूर्त सम्पदाको संरक्षणमा गुठी कार्यक्रमलाई निरन्तरता दिने योजना पनि छ । त्यस्तै हाँडीगाउँको पुनरुत्थान गर्दै यसै बर्षदेखि होमस्टे सञ्चालन गर्ने योजना पनि घोषणा भएको छ।

अल्जाइमर्स, पार्किन्सन्सजस्ता रोगको उपचार गर्ने अस्पतालहरुसँग सहकार्य गर्ने, पूर्ण अशक्तलाई साविकमा दिइँदै आएको मासिक ३ हजार रुपैयाँलाई बढाएर ६ हजार रुपैयाँ पुर्‍याइने भएको छ ।

खेलकुदमार्फत युवाहरुको व्यक्तित्व विकासका लागि खुल्ला व्यायामशाला निर्माण गरिनेछ । एरोविक्स र योगा सञ्चालन गर्न पूर्वाधार विकास गरिने भएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन गर्न क्लवहरुसँग सहकार्य गर्ने र सन्ध्याकालीन खेल सञ्चालनका लागि फ्लड लाइटको व्यवस्था गर्ने समेत उल्लेख छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रममा फिल्म, संगीत, नाटक र कलाको पक्षलाई पनि समेटेको छ । काठमाडौं सहरलाई अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्नको लागि ब्रान्डिङ गर्न सम्बद्ध निकायसँग सहकार्य गर्ने उल्लेख छ ।

साथै महानगरपालिकाको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रवर्द्धन गर्ने विषयका स्वदेशी तथा विदेशी चलचित्र र नाटकको लागि निश्चित मापदण्डको आधारमा अनुदान प्रदान गरिने पनि उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button