खेलविविध

असार ७ गते दोस्रो राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन

म्याराथनको उर्वरभूमि कर्णालीलाई खेलका माध्यमबाट विश्वमाझ चिनाउन ‘दोस्रो राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ प्रतियोगिता आयोजना गरिने भएकोे छ ।

कर्णालीको प्रसिद्ध पर्यटकीयस्थल काँक्रेविहार मन्दिर परिसरमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा बुधबार आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममार्फत प्रतियोगिताबारे जानकारी गराइएको हो ।

‘विश्व ओलम्पिक डे’ को अवसर पारेर कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग, मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको आयोजना तथा म्याक्स टाइगरको मुख्य प्रायोजनमा यही असार ७ गते सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ ।

प्रतियोगिताका संयोजक प्रमोद हमालले २१ किलोमिटर हाफ म्याराथन, दश किलोमिटर महिला र पुरुष, पाँच किलोमिटर विद्यालयका छात्रछात्रा र तीन किलोमिटर दूरीमा पत्रकारको दौड हुने जानकारी दिनुभयो ।

“प्रतियोगिताका लागि दुई हजार खेलाडीले भाग लिनेछन्”, संयोजक हमालले भन्नुभयो, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सबै धावकका लागि प्रतियोगिता खुला गरिएको छ ।”

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु एक लाख, ५० हजार, ३० हजार र २५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

आयोजकका अनुसार दश किलोमिटर दौड प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु दश, सात र पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

पाँच किलोमिटरका प्रथम, दोस्रो र तेस्रो हुनेलाई रु पाँच, तीन र दुई हजार पुरस्कार प्रदान गरिनेछ । तीन किलोमिटरका प्रथम, दोस्रो र तेस्रोलाई रु तीन, दुई र एक हजार प्रदान गरिने आयोजकको भनाइ छ ।

दौड प्रतियोगिता वीरेन्द्रनगर चोकदेखि सुरु भइ मङ्गलगढी, एयरपोर्ट, पिपिरा, धुलियाबिट, सुब्बाकुना र सोही रुट भएर रेडियो नेपाल पुगी पुनः वीरेन्द्रनगर चोकमै पुगेर टुङ्गिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता सञ्चालनका लागि रु १५ लाख लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.