राजनीति

“राजनीतिक नियुक्त पाएका राजदूत मात्र फिर्ता बोलाइएको हो”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो सरकारका पालामा राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई मात्र फिर्ता बोलाइएको बताउँदै परराष्ट्र सेवाका राजदूतहरु कायम रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफ दिँदै उहाँले राजदूत नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताउँदै सो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुने गरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पार्नुभयो ।

“राष्ट्रको सर्वोपरी हित हुने गरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्रीले भन्नुभयो । उहाँले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको स्पष्ट पार्नुभयो ।

त्यसै गरी नदीको प्रकृति र यसले पारिररहेको असरलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको परियोजना सेवामार्फत जलवायु परिवर्तनसँग अन्तरसम्बन्धित गरी प्रतिवेदन तयार गरिएको र कार्यान्वयमा ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्रभावितको समस्याका बारेमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले विषयको संवेदनशीलतालाई आत्मसात् गर्दै विभिन्न आयोगका सुझाव समेटी पीडित जनताका समस्या स्थायी रूपमा समाधान गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानविपरीत धार्मिक तथा सामाजिक सदभाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुनबमोजिम कानुनी कारबाही हुने स्पष्ट पार्नुभयो ।

सरकारले गृह मन्त्रालय र मातहत स्थानीय प्रशासनमार्फत धार्मिक तथा सामाजिक सदभाव बढाउन केन्द्रीय तथा प्रादेशिकस्तरमा समेत छलफलका कार्यक्रम सञ्चालन गरिहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.