राजनीति

नेकपा (एस)को नेतृत्व हत्याउन माधव-झलनाथको टक्कर

नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल निर्विकल्प रहनुभएको थियो भने अहिले सो पार्टीको नेतृत्वमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालको टक्कर छ ।

पार्टीमा सम्मानित नेताको हैसियतमा रहनुभएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्ने बताउँदै सहमतिको निम्ति भने प्रयास गर्ने पक्षमा आफू रहेको स्पष्ट पार्नुभयो ।

नेता खनालले राजनीतिक कार्यदिशा, कार्यक्रम र सिद्धान्तको आधारमा त्यस्तो सहमति खोजिने बताउँदै त्यसको नेतृत्व आफूले गरिरहेको संकेत गर्दै भन्नुभयो, “नीति र नेतृत्वमा कहिल्यै तलमाथि हुन दिनु हुँदैन । समाजवादी कार्यक्रम र क्रान्तिबारेमा लामो समयदेखि लड्दै आएको त मै हो, अहिले सबै सहमतिमा पुगेका छौँ ।”

असारको दोस्रो साता हुने महाधिवेशनको निम्ति चारवटा दस्ताबेज उक्त पार्टीले पारित गरेको छ । अध्यक्ष नेपालले राजनीतिक, नेता खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसाल विधान र महासचिव घनश्याम भुसालले साङ्गठनिक तयार गर्नुभएको हो ।

पार्टी गठन भएको करिब तीन वर्षको हालसम्मको समीक्षा गर्दा आम कार्यकर्ताहरूबाट नेतृत्व परिवर्तन गरेर जाऔँ भन्ने निष्कर्षमा पुगेको खनालको ठम्याइ छ । उहाँ आफू अध्यक्षमा निर्विरोध होस् भन्ने चाहना राखिरहनुभएको छ ।

नेता खनालले एमालेबाट विभाजन भएर आएपछि अध्यक्ष नेपालले पार्टीको राजनीतिक, वैचारिक, सैद्धान्तिक र सङ्गठनात्मक रूपमा राम्ररी पुष्टि गर्न नसकेको आरोप लगाउनुभयो ।

तर नेता नेपालले आफ्नो उम्मेदवारीबारे औपचारिक रूपमा मुख खोल्नुभएको छैन । कतिपयले भने दुवै नेताको विकल्प खोजेर सहमतिको प्रयास हुनसक्ने आकलन पनि गरेका छन् ।

दुई शीर्ष नेताहरुको प्रतिस्पर्धामा आफूले भाग पाउने सम्भावना देखेर घनश्याम भुसालले पनि नेतृत्वको दावेदारी गर्दै आउनुभएको छ तापनि मुख्य प्रतिस्पर्धा पार्टीका दुई प्रमुख नेताहरूबीच नै देखिने भएको छ ।

सो पार्टीले गत जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तय गरेको थियो । तर पछि सो मिति स्थगित गरेरअसार १६ देखि २० गते काठमाडौँमा गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.