प्रशासनको आँखा छलेर विवाह र भोज, गाउँभर सङ्क्रमित
परिस्थिति गम्भीर नै भए पनि जिल्लामा निषेधाज्ञा खुकुलो प्रावधानसहित थप
बागलुङ जिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, व्रतबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी गरिएका यस्तो कार्यहरुबाट गाउँका गाउँ संक्रमित भएको छ ।

निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहँदा संक्रमण बढेको छ ।
केही दिन पहिला जिल्ला सदरमुकाममै विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एउटै गाउँमा यती धेरै जनामा सङ्क्रमण देखिएको हो । विवाहमा सहभागि भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानालका अनुसार गाउँभरीनै ज्वरो, रुघा, खोकी र शरिर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो । यस अघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
“सात जनाभन्दा जम्मा नहुनु भन्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ”, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भन्नुभयो, “यदी कसैले नियम मिचे प्रशासनलाई खवर गरौँ ।”
बागलुङको भकुण्डे, तित्याङ र पैञ्युपाटालगायत गाउँमा पनि यसै साता धार्मिककार्यमा धेरै जम्मा भएर भोज गरेको गुनासो छ । तर प्रशासनलाई पहिले खवर नगर्ने र पछि गुनासो गर्ने धेरै रहेको कार्की बताउनुहुन्छ । बागलुङमा यो समाचार तयार गर्दासम्म ३४० जना सक्रिय सङ्क्रमित छन् ।
खनालका अनुसार, दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै सङ्क्रमित देखिएको वडा नं १४ नारायणस्थान सक्रिय सङ्क्रमित मुक्त भएको छ । त्यस्तै वडा नं ११ रायडाँडा, वडा नं ५ मालिका र वडा नं ८ सिगानामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।
खुकुलो प्रावधानसहित यहाँ एक हप्ता निषेधाज्ञा
परिस्थिति गम्भीर नै भए पनि जिल्लामा खुकुलो प्रावधानसहित निषेधाज्ञा थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसपालि निषेधाज्ञाको स्वरूप बदलिएको छ ।
पसल, व्यवसाय मध्याह्न १२ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । होटल, रेष्टुराँ, चिया तथा खाजा पसलले मध्याह्न १२ बजेसम्म ‘टेक अवे’, ‘होम डेलिभरी’ र ‘अनलाइन डेलीभरी’मार्फत सेवा प्रदान गर्न पाउने भएका छन् ।
‘पार्टी प्यालेस’, सौन्दर्य व्यवसाय, सैलुन, जिमखाना, खेलकूदस्थल, सिनेमा घर आदि भने सञ्चालन गर्न नपाइने भएको छ । सहकारी, बैंक तथा वित्तीय संस्थाले बिहान ९ देखि १२ बजेसम्म नियमित सेवा दिनेछन् ।
यस्तै जोर–बिजोर प्रणाली अपनाएर निजी सवारी साधन चलाउन दिने निर्णय गरिएको केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । चार पाङ्ग्रे निजी सवारी साधनमा चालकसहित बढीमा चार जना मात्र यात्रु राख्न पाइनेछ ।
मानिस भेला हुने र भीडभाड हुनेजस्ता सबै कार्यक्रममा भने रोक लगाइएको छ । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरूपमा अपनाउन जनसाधारणमा आग्रह गरिएको छ । जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।
प्रतिक्रिया राख्नुहोस्