टिप्पर र बसको ठक्करबाट दुई महिलाको मृत्यु
काठमाडौंको शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भाषी–सुडा खण्डमा आज बिहान बसको ठक्करबाट महिलाको मृत्यु भएको छ ।
मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताउनुभो ।
टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिनुभयो ।
यसै गरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भाषी–सुडा खण्डमा आज बिहान बसको ठक्करबाट महिलाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट बर्दियातर्फ गइरहेको ना ४ ख ८०७७ नं को बसले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका–६ बस्ने ३० वर्षीया बिमलादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते हुनुभएकी जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि आक्रोसित स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीय प्रशासन राजमार्ग खुलाउन प्रयासरत रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बलमेले बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्