जन सरोकार

रोल्पामा पहिरो- तीनको मृत्यु, भिरबाट लडेर वडासदस्यको मृत्यु

अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी तीनजना घाइते भएका छन् । पहिराले घर पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

घटनामा परी ४० वर्षीय टीकासिंह बुढा, ४५ वर्षीया सुनमाया बुढा र नौ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले बताउनुभयो । “घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ”, सुवेदीले भन्नुभयो ।

त्यसै गरी खेत जोतेर फर्कँदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिनुभयो । श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किँदै थिए ।

शारीरिक अपाङ्गता भएका बुवासँगै खेत जोतेर घर फर्कँदै गर्दा लडेर मृत्यु भएका श्रेष्ठको अनुहारमा चोट देखिएको वडाध्यक्ष अम्गाईँले जानकारी दिनुभयो । मङ्गलबार साँझ उक्त घटना भएको उहाँले बताउनुभयो । खेत जोत्दाजोत्दै चर्को घाम भएपछि गोरु फुकाएर बुवाले चराउन लगेपछि उहाँ घर फर्कने क्रममा खोलाको दलदलेमा खुट्टा अड्किएर लड्दा मृत्यु भएको अनुमान गरिएको वडाध्यक्ष अम्गाईँले जानकारी दिनुभयो ।

घटनाको खबर प्राप्त भएलगत्तै बुङ्कोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सन्तोष अधिकारीको टोली घटनास्थल पुगेको थियो । मृतकको शव गोरखा अस्पतालमा ल्याएर परीक्षणपछि परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

उता जाज।कोटको भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ । भिरबाट लडेर घाइते हुनुभएकी उहाँको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मंगलबार राति निधन भएको छ ।

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ लडेर घाइते हुनुभएको थियो । घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button