राजनीति

नेताहरू मोटाए पनि जनता दुब्लाउँदै गए : प्रभु साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालका राजनीतिक पार्टी र नेताहरू मोटाए पनि जनता दुब्लाउँदै गएका बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा शनिबार सोही पार्टीको तामाङसालिङ–नेवाः प्रदेशले आयोजना गरेको कार्यक्रममा उहाँले राजनीतिक पार्टीका नेताहरू जनताका सेवक बन्नुपर्नेमा मालिक बनेको आरोप लगाउनुभयो ।

पञ्चायत हुँदै बहुदल र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको जीवनस्तर उकास्ने भनेर नारा लगाए पनि व्यवहारमा लागू नभएको बताउनुभयो ।

“जनतालाई अधिकारसम्पन्न बनाउँछौँ भनेर सबै दल र नेताले भन्दै आएका छन् तर ती कागज र नारामा मौत्र सीमित भएका छन् । जनताको अवस्थामा आमूल परिवर्तन गर्न सकिएको छैन” ।

उहाँले भन्नुभयो,“अहिलेका जनप्रतिनिधि पनि पार्टीका कारिन्दामात्रै बनेको छन् । पार्टीको हैकम चल्ने व्यवस्थालाई लोकतन्त्र कसरी भन्ने ? त्यसैले हाम्रो पार्टीले त्यस्ता प्रवृत्तिविरुद्ध विभिन्न अभियान गरिरहेको छ ।”

अध्यक्ष साहले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन र लोकतन्त्र ल्याउन लडाइँ लडिएकामा अहिले सीमित नेताको वरिपरिमात्रै मुलुक चल्ने अवस्थाले समस्या समाधान गर्न नसकिएको जिकिर गर्नुभयो ।

पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र तामाङले तामाङसालिङ–नेवाः प्रदेशले बनेपामा लघुवित्त एवं बैंकले लिएको मनोमानी ब्याज फिर्ता तथा सहकारी ठगीविरुद्धमा खबरदारी गरिएको बताउनुभयो ।

यसअघि बनेपाको पुलबजारबाट तरकारी बजारसम्म आयोजना गरेको ‘लघुवित्त एवं बैंकले लिएको मनोमानी ब्याज फिर्ता तथा सहकारी ठगीविरुद्धमा खबरदारी र्याली’ मा काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका गरी पाँच जिल्लाका पार्टी नेता, कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.