जन सरोकार

क्यारेन्टिनमा बढ्दो आत्महत्या : गम्भीर समीक्षा आवश्यक

कोरोना भाइरस संक्रमण रोक्न स्थापना गरिएका क्यारेन्टिनमा बसेकाहरुबाट आत्महत्या गर्ने क्रम बढ्न थालेको छ । यसै क्रममा तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् ।

सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए ।

गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाले ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको बताउँदै घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको जानकारी दिनुभएको छ ।

तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमण फैलिन नदिन राखिएका क्यारेन्टिनमा यसरी आत्महत्याका घटना बढ्दै जाँदा गम्भीर समीक्षा आवश्यक भएको छ । देशका विभिन्न स्थानमा यसअघि दर्जन बढीले आत्महत्या गरिसकेका छन् ।

त्यसै गरी क्वारेन्टिनबाट भाग्नेहरुको संख्या पनि बढ्दो छ भने सुविधा नभएको, परीक्षण ढिला गरिएको भन्दै आन्दोलन समेत हुने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.