प्रबास

भिसी तुलबहादुर पुन रेल हुइँकिन थाल्यो लण्डनमा

बेलायतको राजधानी लण्डन शहरको प्याडिङटन–ब्रिस्टोल रेल सेवा अब बेलायतको सर्वोच्च पदक भिक्टोरिया क्रस (भिसी) विजेता तुलबहादुर पुनको नाम संचालनमा आएको छ । सो रेल सेवा बुधबारबाट सञ्चालनमा आएको हो ।

लन्डनको ग्रेट वेस्टर्न रेल्वेद्वारा आयोजित नामाकरण समारोहमा पुनका छोरा अर्जुन र छोरी मेघकुमारी पुनले रेल सेवाको शुभारम्भ गर्नु भएको थियो । यससँगै भिसी पुनको नाम कुँदिएको रेल बुधबारदेखि लण्डनको प्याडिङटन–ब्रिस्टोल सेवामा शुरू भएको छ ।

दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्षको अवसर पारेर गत वर्ष गरिने भनिएको कार्यक्रम कोरोना महामारीका कारण एक बर्षपछि सरेको हो । समारोहमा बेलायतकी चर्चित अभिनेत्री जोआना लुम्लेले पुनको नाम इतिहासमा लेखिएको बताउँदै रेलवे सेवाको नाम पुनको नाममा गरिनुले उहाँको सदा स्मरण हुने बताउनुभयो ।

ग्रेट वेस्टर्न रेल्वे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्वीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामित्व र सहयोगका लागि लामो समयदेखि रेल्वेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको जानकारी दिनुभयो । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएशनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेल्वेलाई धन्यवाद दिनु भएको थियो ।

पुनका छोरा अर्जुन पुनले यस नामाकरणले परिवारको मात्र नभई सिङ्गो गोरखा सैनिकको सम्मान भएको गोरखापत्रलाई बताउनुभयो । उहाँले गोरखाको सम्मानले सम्पूर्ण नेपालीको सम्मान भएकोमा खुशी व्यतm गर्नुभयो । कुनै पनि रेल्वे कम्पनिले गोरखाको नाममा रेलवेको नामकरण गरेको यो सम्भवत पहिलो हो ।

भिक्टोरिया क्रस प्राप्त गर्ने १३ जना गोरखा सैनिकमध्ये हाल एकजना मात्र जीवित हुनुहुन्छ । दोस्रो विश्वयुद्धमा बर्माको लडाइमा सहभागी हुनु भएका पुनले २१ वर्षको उमेरमा भिक्टोरिया क्रस पाउनु भएको थियो । पुनको सन् २०११ अप्रिल २० मा पुनको निधन भएको थियो ।

पुनकी श्रीमती नेपालमा भएकाले कार्यक्रममा सहभागी हुन नसकेको छोरा अर्जुनले बताउनुभयो । कार्यक्रममा पूर्व गोरखाहरुको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.