राजनीति

मन्त्रीबाट फिर्ता बोलाउने निर्णयलाई १० सांसदको चुनौति

नेकपा एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरु हेरफेर गर्न गरेको तयारीलाई सो पार्टीका वहाल मन्त्री लगायत १० सांसद विपक्षमा उभिएका छन् ।

१० सांसदले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीमण्डल पुनर्गठन गर्न खोज्नुलाई स्वाभाविक मान्न नसकिने बताएका छन् ।

बिहीबार बुझाइएको ध्यानाकर्षण पत्र बुझाउने १० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठसहित कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण, धनबहादुर बुढा र निरा जैरु रहनुभएको छ ।

मन्त्रीहरुलाई अपराधी जस्तो व्यवहार गरिएको तथा बजेट पास भएपछि गठबन्धनमा सल्लाह गरेर निर्णय गर्ने निर्णय विपरीत आजै, भोलि नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्रीलाई दबाव दिनु अनुचित भएको उनीहरुले बताएका छन् ।

अध्यक्ष नेपाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छन्, ‘मन्त्रीहरुले संसदमा बजेटसम्बन्धी आफ्नो धारणा राख्ने र माननीय सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छाड्छौं भन्ने प्रतिवद्धतालाई कमजोरी ठानियो । यो व्यवहारप्रति हामी गम्भीर छौं ।’

१० सांसदले प्रस्तावित मन्त्रीहरु असमावेशी र असन्तुलित भएको समेत बताएका छन् । पालैपालो मन्त्री बनाउने नेतृत्वको भनाइलाई सही मान्ने हो भने सबैलाई एउटौ मापदण्ड नभएको, गैरसांसद र एउटै जिल्लाबाट दुई जना मन्त्री सिफारिस भएको र पुराना र नयाको सन्तुलन नमिलेको पनि सांसदहरले बताएका छन् ।

१० सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन तथा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलन र समावेशी सिद्धान्तका आधारमा सिफारिस गर्न माग गरेका छन् ।

एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी, विरोध, प्रेम र कृष्णकुमार)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो भने सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ ।

यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो । कुँवर सांसद हुनुहुन्न ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.