कागेश्वरी मनोहराको बजेट एक अर्ब ६७ करोड पाँच लाख : कृषि, स्वास्थ्य र शिक्षामा विशेष कार्यक्रम

कागेश्वरी मनोहरा नगरपालिकाले रोजगारी सिर्जना हुने गरी कृषिमा संलग्न किसानका लागि निःशुल्क अन्नबाली र पशु बीमा, कृषि औजार, मल एवं बीउबिजनमा अनुदानको व्यवस्थासहितको कार्यक्रम पारित गरेको छ ।
नगरप्रमुख कृष्णहरि थापाले चौँथो नगरसभामा पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७७÷२०७८ को नीति तथा कार्यक्रम र बजेटमा कोभिड–१९ को महामारीले सिर्जित समस्या समाधानका लागि कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका लागि विशेष बजेटको व्यवस्था गरिएको हो । नगरसभाले कोरोनाको प्रभाव नियन्त्रणका लागि नगरभित्रका स्वास्थ्य संस्थालाई प्रभावकारीरुपमा सञ्चालन र व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।
आगामी आवका लागि नगरपालिकाले आयतर्फ रु एक अर्ब ६७ करोड पाँच लाख ६९ हजारको बजेट विनियोजन गरेको छ । यसैगरी व्ययतर्फ चालू खर्चमा रु ३८ करोड ३२ लाख ८८ हजार र पूँजीगत खर्चतर्फ रु एक अर्ब २८ करोड ७२ लाख ८१ हजारको अनुमानित खर्चलाई नगरसभाले पारित गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।
नगरपालिकाको आगामी आवको आर्थिक विधेयकमा बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका उद्योग व्यवसायीको समस्या समाधानका लागि सेवा शुल्क तथा राजस्वको बक्यौतातामा जरिवाना छुट गर्ने उल्लेख छ ।
यसैगरी घरजग्गा बहाल करमा ५० प्रतिशत छुट गरेको छ । घरजग्गा कर र मालपोतमा बक्यौता रकम आगामी पुस मसान्तसम्म बुझाएमा जरिवाना नलाग्ने व्यवस्था गरिएको छ । कुनै वस्तु सेवामा मालपोत रजिष्ट्रेशन मूल्याङ्कन दस्तुर चालू आवकै यथावत् कायम गर्ने नगरपालिकाले जनाएको छ । गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधार पाठ्यपुस्तक तालिमका साथै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्थासहितको नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्