राजनीति

प्रहरी र गृह प्रशासनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री पौडेल

गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने, जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन

उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिंदै आफूबाट प्रहरी र गृह प्रशासनमा कुनै हस्तक्षेप नहुने बताउनुभएको छ ।

गृहमन्त्रीको रूपमा शुक्रबार पदभार ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

आफू फरक खालको व्यक्ति भएको जानकारी गराउँदै उहाँले हरेक व्यक्ति आआफ्नो जिम्मेवारी सम्पादन गर्न सबै स्वतन्त्र हुने बताउनुभयो । उहाँले जिम्मेवारी अनुसार आफूलाई नतिजा भने चाहिनेसमेत उल्लेख गर्नुभयो । गृहमन्त्री पौडेलले भन्नुभयो, “नतीजाप्रति जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्ने मान्यता म राख्छु”, गृहमन्त्रीले भन्नुभयो । उहाँले बढुवा, सरुवा, थमौती र स्वदेश, विदेश पठाउनका निम्ति मातहतका आफूकहाँ नआउन मातहतका कर्मचारीलाई भन्नुभयो । उहाँले सरकारबाट गर्नुपर्ने काममा कुनै कमि नहुने र मन्त्रीका हैसियतमा गर्ने निर्णयमा आफू जिम्मेवार रहेको पनि बताउनुभयो ।

गृहमन्त्री पौडेलले राजनीतिक परिस्थितिको प्रभाव सुरक्षा निकायमा र गृह प्रशासनमा पर्न नहुनेमा जोड दिनुभयो । उहाँले शान्ति सुरक्षा, मानिसको जीउधनको रक्षा गर्ने सवालमा जिम्मेवारीपूर्वक काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले राजनीतिक परिस्थितिबाट गृह प्रशासन अलग हुनुपर्नेमा जोड दिनुभयो । गृह प्रवक्ता जनकराज दाहालका अनुसार गृहमन्त्री पौडेलले काम छिटो, छरितो र इमान्दारपूर्वक गर्न र सरकारको नीति, योजना व्यवहारमा कार्यान्वयन हुने गरी काम गर्न मातहतका निकायलाई निर्देश गर्नुभएको छ ।

निर्देशनका क्रममा गृहमन्त्री पौडेलले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी जिम्मेवारी पूरा गर्न तथा परेका समस्याबारे खुलस्त राख्नसमेत आग्रह गर्नुभएको प्रवक्ता दाहालले जानकारी दिनुभयो । “समग्रमा मन्त्रीज्यूको हौसला र उत्प्रेरणा दिने खालको निर्देशन थियो, पदीय जिम्मेवारी आआफ्नो हुन्छ तर जिम्मेवारी इमान्दारपूर्वक गर्न भन्नु भएको छ”, उहाँले थप्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले गृह मन्त्रालयसहित अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएको छ । सर्बोच्च अदालतको आदेशपछि गत वैशाख ३१ मा गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री केपी शर्मा ओलीको यही असार १० को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री पौडेललाई ती मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी तोक्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button