अघिल्लो वर्ष जापानमा ८४ हजार नौसय १० जना बेपत्ता
जापानमा बेपत्ता हुने व्यक्तिहरूको सङ्ख्या क्रमशः बढ्दै गएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ ।
जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको देखिन्छ । बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन् । यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ ।
यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१२ मा तुलनात्मक तथ्याङ्क सार्वजनिक गर्न थालिएदेखि बेपत्ता हुनेको सङ्ख्या क्रमशः बढ्दोक्रममा छ । यो सङ्ख्या एक दशकमा झण्डै दोब्बर भएको छ। तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौंतारिएपछि हराएको उल्लेख गरिएको थियो ।
स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शङ्का लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड) राख्न आग्रह गरिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्