अमेरिकी सेनाका गोप्य दस्तावेज सार्वजनिककर्ता असाञ्ज जेलमुक्त
विश्वका शक्तिाली मुलुकका गोप्य दस्तावेज सार्वजनिक गरेर सनसनी मच्चाँएका विकिलिक्सका संस्थापक जुलियन असाञ्जलाई बेलायत सरकारले रिहा गरेको छ ।
अमेरिकी सेनाका गोप्य दस्ताबेज सार्वजनिक गरेपछि पक्राउ परेका असाञ्ज बेलायतको जेलबाट १९०१ दिनपछि रिहा भएका हुन् ।
विकिलिक्सले मंगलबार बिहान जुलियन असाञ्ज जेलमुक्त भएको र आफ्नो देश प्रस्थान गरेको जनाउँदै बेलायतको लण्डनस्थित अदालतबाट उनी जमानतमा रिहा भएको पनि बताएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाका गोप्य दस्तावेज लिक गरेको आरोपमा आफू दोषी भएको स्वीकार गरेपछि असाञ्ज सोमबार राति रिहा भएका हुन् । उनले गल्ती स्वीकार्ने र अमेरिकाको जेलमा बस्न नपर्ने सहमति अमेरिकी न्याय विभागसँग उनले गरेको समाचारमा उल्लेख छ ।
अष्ट्रेलियाई मूलका असाञ्जले सन् २०१० मा विकिलिक्स अनलाइनमा अमेरिकी सेनाका गोप्य दस्ताबेजहरु सार्वजनिक गरेर विश्वभर सनसनी मचाएका थिए ।
खास गरी इराक र अफगानिस्तान युद्धको बारेमा अमेरिकी सैन्य रहस्य उनले उजागर गरेका थिए । यसलाई अमेरिकी सेनाको इतिहासमै सबैभन्दा ठूलो सुरक्षा चुकाइ भनिएको थियो ।
राष्ट्रिय सुरक्षा दस्ताबेज प्रकाशित गरेपछि जासुसी गरेको लगायतका १८ मामिलामा उनलाई अमेरिकी संघीय ग्राण्ड जुरीले दोषी ठहर गरेको गरेको थियो ।
असुरक्षा महसुस भएपछि उनी सात वर्षसम्म लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएर बसेका थिए । त्यसपछि उनी पक्राउ परेका थिए । उनलाई सन् २०१९ मा लण्डनको उच्च सुरक्षायुक्त बेलमार्शको हिरासतमा राखिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्