बेसारे फोटोको मोह, अरुको नक्कल गर्दा गुम्ला सबै गोपनीयता
बेसार मसलाका रुपमा प्रयोग हुने गुणकारी वस्तु भए पनि यसैको नाम जोडेर कुनै व्यक्तिको चरित्रलाई सम्बोधन गर्दा बेसारे भनिन्छ । जता पनि ठिक्का पार्ने क्षमता भएकाहरुलाई बसारे भनिन्छ ।
अहिले यही बेसार रंगको फोटो एउटा एप मार्फत सामाजिक सञ्जालहरुमा रंगाउने गरिएको छ । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना लाग्न नदिन आन्तरिक शक्ति बढाउनुपर्ने र त्यसका लागि बेसार पानी खानुपर्ने भनेर दिनुभएको सन्देशलाई एकथरिले त्यसको समर्थन गर्न र अर्काथरिले व्यंग्य प्रदर्शन गर्न प्रयोग गरेका छन् ।
प्रधानमन्त्रीका सल्लाहकार समूहदेखि राजनीतिक दलका नेता तथा आम नागरिकहरु अहिले बेसारे फोटामा रमाइरहेका बेला यो एप कहिले र कसरी बन्यो अनि यसबाट हुनसक्ने सम्भावित क्षतिका बारेमा भने कमैलाई जानकारी होला ।
सन् २०१० मा रसियन मोबाइल एप डेभलपर कम्पनी लिनाकर इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले तयार गरेको ‘फोटो ल्याब पिक्चर इडिटर’ नामको एपमार्फत बेसारे फोटो तयार हुन्छ ।
यो कम्पनी पटक–पटक अमेरिकी गुप्तचर संस्था सिआइएसँग जोडिएर आउने गर्दछ । फोटो एपमार्फत व्यक्तिका महत्वपूर्णं सूचना सिआइएलाई शेयर गरेको आरोप कम्पनीमाथि छ । हालै मात्र बंगालादेशको संसदमा समेत चर्चित फोटो ल्याब पिक्चर इडिटर एपको विषयमा गम्भिर विषय उठेको थियो ।
लिनाकरले आफ्नो मोबाइल एप फोटो ल्याब पिक्चर इडिटरमार्फत बंगालादेशी सरकार र नागरिकको महत्वपूर्णं सूचना सिआइएलाई बेचेको भन्दै बंगालादेशमा एपको प्रतिबन्ध लगाउन माग भएको थियो ।
बंगालादेशमा फोटो ल्याब एप विवादमा आएसँगै लिनाकर कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आफ्नो एपमार्फत डाटा शेयर वा चोरी नभएको दाबी गरेको थियो । कम्पनीले आफ्नो कार्यालयसमेत अमेरिकामा नरहेको दाबी गर्दै समाचारहरु गलत भएको बताएको थियो ।
फोटो ल्याब एप लिनाकर कम्पनीको सबैभन्दा चर्चित एप हो । हालसम्म यस एपलाई विश्वभर १० करोडभन्दा बढि प्रयोगकर्ताले डाउनलोड गरेका छन् । सजिलोसँग फोटोलाई इडिट गर्न मिल्ने र उच्च गुणस्तरमा इच्छाअनुसार फोटो परिवर्तन गर्न मिल्ने भएका कारण यस एप लोकप्रिय बन्दै गएको हो ।
धेरै मोबाइल प्रयोगकर्ताले आफ्नो महत्वपूर्णं डाटा मोबाइलमा सेभ गर्ने गर्दछन् । कतिपयले आफ्नो नागरिकता, पार्सपोर्ट फोटो, बैंक खाता नम्बर, एटीएम कार्ड नम्बर, पिन कोड मात्रै नभई आफ्नो डिजिटल हस्ताक्षर लगायतका महत्वपूर्णं डकुमेन्टसमेत मोबाइलमा राख्ने गर्दछन् ।
फोटो ल्याब एपले मोबाइलमा इन्स्टल गर्ने वित्तिकै सबै डाटाहरु सजिलैसँग लैजान सक्छ । व्यक्तिको फोटो मात्रै नभई भएको सबै फाईल सजिलैसँग कम्पनीको डाटामा शेयर हुन्छ । एपमा डाटा शेयर नगरेको खण्डमा एपबाट कुनै पनि फोटो इडिट गर्न सकिँदैन ।
यस्तो तपाईं आफ्नो डाटालाई सुरक्षित गर्न फोटो ल्याब पिक्चर इडिटर प्रयोग गर्ने वा नगर्ने आफैं सोंच्न सक्नुहुन्छ । सबैभन्दा महत्वपूर्णं कुरा उच्च ओहोदामा भएका र महत्वपूर्णं जिम्मेवारी सम्हाल्ने व्यक्तिको लागि सुरक्षाको हिसाबले यो एप अत्यन्तै जोखिमपूर्णं देखिएको छ ।
यस एपलाई कतिपय देशले भने प्रयोगमा प्रतिबन्धसमेत लगाएका छन् । दक्षिण अमेरिकाका कतिपय देशमा यस एपलाई सुरक्षा खतरासँग जोडेर प्रतिबन्ध लगाइएको छ ।
सूचना प्रविधिका जानकारहरु के सुझाव दिन्छन भने विशेष गरी सार्वजनिक ओहदाका र उच्च सरकारी अधिकारी तथा राजनीतिक नेताहरुले यस्तो एप प्रयोग गर्नु घातक हुनसक्छ ।
प्रतिक्रिया राख्नुहोस्