स्थायी समितिको महत्वपूर्ण बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली अनुपस्थित
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ । उहाँले बैठकको सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर अन्य काममा व्यस्त रहनुभएको छ ।
बुधबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्ड र ओलीको धारणापछि स्थगित गरिएको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीको मन्तव्य चलिरहेकै बेला बीचबीचमा आलोचना भएको थियो ।
पाँच एजेण्डा तय गरिएको बैठकमा नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ । सरकार र पार्टीमा कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरूका धारणा सुन्ने बैठकमा अनुपस्थित हुनुहुन्छ ।
उता प्रधानमन्त्री ओली निकट नेताहरुले बैठकको पहिलो दिन नै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरूलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरूले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको दावी गरेका छन् ।
अर्कोतिर दुई अध्यक्षबीचको सल्लाहअनुसार नै बैठकको अध्यक्षता प्रचण्डले गर्ने र महासचिव पौडेलले बैठक सञ्चालन गर्ने तय भएको पनि बताइएको छ ।
समाचार सूत्रका अनुसार बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरूले ओलीको राजीनामा माग्ने तयारी गरिरहेका छन् । बुधबार सम्बोधन गर्दा अध्यक्ष प्रचण्डले आधाआधाको पूर्व सहमतिबाट पछिहटेर आफूले गल्ती गरेको र ओलीले सरकार एकलौटी गर्दै गएको गुनासो गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली यसअघि पनि आफ्नो चर्को आलोचना हुने संकेत पाएपछि बैठकमा अनुपस्थित हुने गर्नुभएको छ ।