जन सरोकार

सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेल ल्याउन चीनको प्रस्ताव

चीनले नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेल लैजान प्रस्ताव गरेको छ । नेपाल-चीन रेलमार्ग परियोजनामा संलगन एक वरिष्ठ इन्जिनियरले अन्य भूभागबाट रेल लैजान कठिन रहेको बताउँदै सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले सुझाव दिएको हो ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टलाई ती इन्जिनियरलाई उध्दृत गर्दै सगरमाथा क्षेत्र हुँदै नेपाल-चीन रेलमार्ग बनाउन सुझाएको बारे समाचार सार्वजनिक गरेको छ । उक्त रेलमार्गले नेपालको अर्थतन्त्र उकास्नमा प्रमुख भूमिका खेल्ने जनाइएको पनि छ ।

उक्त रेलमार्गले नेपालको राजधानी काठमाडौंबाट चीनको सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई जोड्छ । ५१३ किलोमिटर लामो उक्त रेलमार्ग निर्माणमा ८.२७ बिलियन अमेरिकी डलर खर्च हुने इन्जिनियर लियाङले जनाएका छन् ।

हेर्नुहोस् साउथ चाइना मर्निङ पोस्टको यो समाचार

त्यस्तै समाचारमा वातावरण संरक्षित क्षेत्रमा ठूला परियोजना निर्माण गर्न चिनियाँ कानूनले अनुमति नदिने उल्लेख छ । दुबै मुलुकको एक हजार किलोमिटर लामो सीमा हुँदै रेलमार्ग बनाउन ६ वटा रुट प्रस्ताव गरिएको र कुन रुट छनौट गर्ने भन्नेबारे चिनियाँ प्राविधिक अन्यौलमा छन् । प्रस्तावित रुटमध्ये सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्ग लैजाने विषयमा बहस केन्द्रित भएको जनाइएको छ ।

चीनको स्थानीय अखबार रेलवे स्ट्रान्डड डिजाइनमा गत बुधबार प्रकाशित समाचारमा सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै बनाइने रेलमार्गमा ३० किलोमिटर लामो सुरुङ बनाउन सहमति जुटेको उल्लेख छ ।

सान्ची प्रान्तस्थित चिनियाँ रेलवे फस्ट सर्भे तथा डिजाइन इन्स्टिच्युट ग्रुपका वरिष्ठ इन्जिनियर लियाङ दोङले एक तिहाइभन्दा बढी सुरुङ सगरमाथा राष्ट्रिय निकुञ्जमा भूमिगत तरिकाले बनाउने सहमति जुटेको उक्त अखबारलाई बताएका छन् ।

विज्ञ प्राविधिकहरुले तयार पारेको उक्त ढाँचा र लागतसहितको प्रतिवेदन चीन र नेपाल सरकारलाई बुझाउने तयारी भैरहेको छ । सन् २०१६ मा नेपाल र चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत रेलमार्ग निर्माणमा सम्झौता गरेका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button