राजनीति

किसानका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भुसाल

कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताउनुभएको छ । नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको चौथो अङ्क ‘डेरी दर्पण’ को आइतबार विमोचन गर्दै नेपाललाई दुग्ध क्षेत्रमा पूर्ण रुपमा आत्मनिर्भर बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको छ र आगामी दिनमा पनि साथ रहने कुरा प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।” मन्त्री भुसालले कृषि क्षेत्र र कृषकले भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने बताउनुभयो । कृषकले भोग्दै आएको बीउ, मल र बजार भाउको जतिसक्दो चाँडो समाधान गर्ने उहाँको भनाइ थियो । सङ्घले मोही, दूध तथा दुग्ध पदार्थसहित दहीचिउरा खुवाउने कार्यक्रमसमेत गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत वस्तुगत सङ्घका उपाध्यक्ष एवं कार्यकारिणी सदस्यहरुलाई क्रमशः सम्मान गर्ने क्रममा उपाध्यक्ष हेमराज ढकाल, कार्यकारिणी सदस्यहरुमा अरनिको राजभण्डारी, भक्त हमाल, हरिबहादुर कार्की, कमला श्रेष्ठ र लिलेन्द्रप्रसाद प्रधानलगायतलाई सम्मान गरिएको थियो ।

डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले दुग्ध क्षेत्र एक संवेदनशील क्षेत्र रहेको र यो क्षेत्रको एक मात्र सरोकारवाला निकाय राष्ट्रिय दुग्ध विकास बोर्डको खारेजी प्रक्रिया अविलम्ब रोक्नुपर्नेमा जोड दिनुभयो । भेटेरिनरी एसोसिएसनका अध्यक्ष रामकृष्ण खतिवडाले डेरी व्यवसायमा नेपाल डेरी एसोसिएसनको भूमिका ठूलो रहेको र चौथो अङ्क डेरी दर्पण विमोचनको शुभकामना दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.