विश्व समाचार

केन्याको घातक विरोध प्रदर्शनपछि के हुन्छ ?

अराजकता र घातक हिंसाको अभूतपूर्व दिनपछि केन्या बुधबार अनिश्चिततामा डुबेको छ । सांसदहरूले अत्यधिक अलोकप्रिय कर वृद्धि विधेयक पारित गरेपछि प्रदर्शनकारीहरूले संसद्मा तोडफोड गरेका छन् ।

केन्याको घातक विरोध प्रदर्शन

पूर्वी अफ्रिकाको आर्थिक महाशक्ति केन्या कसरी यो विन्दुमा पुग्यो र अब के हुन्छ ?

के भयो ?
कर वृद्धिविरुद्ध मङ्गलबार शान्तिपूर्ण तरिकाले राष्ट्रिय हडताल सुरु भयो । यसमा अधिकांश युवा प्रदर्शनकारीहरूले गत साताजस्तै मुलुकभर मार्च गरे ।

तर पछि संसद्तर्फ अगाडि बढिरहेको मार्चको भीडमा अधिकारीहरूले गोली चलाएपछि राजधानी नैरोबीमा तनाव बढ्यो । संसद्मा सांसदहरू कर प्रस्तावसहितको वित्त विधेयकमाथि बहस गरिरहेका थिए ।

त्यसपछि प्रदर्शनकारीहरूले प्रहरी ब्यारिकेड तोड्दै संसदीय परिसरमा घुसेर तोडफोड गरे । केन्या राष्ट्रिय मानवाधिकार आयोगले २२ जनाको मृत्यु भएको रेकर्ड गरेको छ र अनुसन्धान गर्ने वाचा गरेको छ ।

नैरोबीको केन्याटा नेसनल अस्पतालका एक अधिकारीले बुधबार भने, “अस्पतालमा एक सय ६० जनाको उपचार भइरहेको छ, तीमध्ये केहीलाई सामान्य चोट लागेको छ भने केहीलाई गोली लागेको छ ।”

नैरोबी र अन्य काउन्टीमा पनि लुटपाट भएको छ भने राष्ट्रपति विलियम रुटोको गढ एल्डोरेटको रिफ्ट भ्याली सहरका भवनहरूमा आगजनी गरिएको छ ।

घटना कसरी बढ्यो ?
जीवनको लागतको सङ्कटसँग सङ्घर्ष गरिरहेका धेरै केन्याली सरकारसँग अत्यन्त निराश छन् । प्रदर्शनकारीहरूले कर वृद्धिले सङ्कटलाई अझ बढाउने बताएका छन् ।

रोटी खरिद र कार स्वामित्वमा कर लगाउने सरकारको प्रारम्भिक प्रस्तावले युवा, जेन–जेड (सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मेका) केन्यालीबीच आक्रोश उत्पन्न गर्यो । उनीहरूले गत साता ‘संसद् कब्जा गरौँ’ नामक आन्दोलन सुरु गरेका थिए ।

टिकटक, एक्स र इन्स्टाग्राममा सङ्गठित र लाइभस्ट्रिम गरिएको उनीहरूको विरोध प्रदर्शन धेरै हदसम्म शान्तिपूर्ण रह्यो । उनीहरूले वृद्ध केन्यालीसहित धेरैभन्दा धेरै मानिसलाई आकर्षित गरेका थिए जसमा केही आफ्ना बालबालिकासहित बिहीबारको र्यालीमा आएका थिए ।

सरकारले केही कर वृद्धि फिर्ता लिएको छ तर प्रदर्शनकारीहरूले विधेयकलाई पूर्णरूपमा फिर्ता नलिएसम्म स्वीकार नगर्ने बताएका छन् ।

जोखिम खुफिया कम्पनी भेरिस्क म्यापलक्राफ्टका वरिष्ठ अफ्रिका विश्लेषक एन्ड्र्यु स्मिथले राष्ट्रपति रुटोले ‘कर वृद्धि र अन्तरनिहित सामाजिक आर्थिक अवस्थालाई लिएर जनतामा रहेको क्रोधको मात्रालाई गम्भीररूपमा गलत तरिकाले बुझेको’ बताउनुभयो ।

“धेरै प्रदर्शनकारी रुटोसँग गम्भीररूपमा निराश छन्, सन् २०२२ मा जीवनयापनको लागत कम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सत्तामा आउनुभएका रुटोले यसको ठीक विपरीत काम गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

रुटोको सरकारले विदेशी ऋणमा निर्भरता कम गर्नका लागि कर वृद्धि आवश्यक भएको बताएको छ । विदेशी ऋण करिब एक सय खर्ब सिलिङ रहेको छ र यो कूल गार्हस्थ्य उत्पादनको करिब ७० प्रतिशत हो ।

केन्या अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को ऋण कम गर्ने र राजस्व बढाउने दबाबमा छ ।

अब के हुन्छ ?
रुटोको अर्को कदम के हुनसक्छ भन्ने स्पष्ट छैन ।

तर प्रदर्शनकारीहरूले बुधबार मार्च जारी राख्ने वाचा गरेका छन् । “भोलि हामी हाम्रा सबै मृतकका लागि सेतो कपडा लगाएर पुनः शान्तिपूर्वक मार्च गर्नेछौँ”, आयोजक हनिफा अदनले एक्समा पोस्ट गर्नुभयो, “तपाईंले हामी सबैलाई मार्न सक्नुहुन्न ।”

गत साता केही वृद्धिलाई सीमितरूपमा फिर्ता लिएपछि रुटोले थप सहुलियत प्रदान गरिरहनुभएको छैन । मङ्गलबार राति एक ब्रिफिङलाई सम्बोधन गर्ने क्रममा उहाँले केही प्रदर्शनकारीको तुलना अपराधीहरूसँग गर्दै ‘हिंसा र अराजकता’ लाई रोक्ने चेतावनी दिनुभयो ।

अधिकारीहरूले यसलाई ‘सुरक्षा आपत्कालीन’ का रूपमा वर्णन गर्नका लागि सेनालाई परिचालन गरेका छन् । विश्लेषक स्मिथले भन्नुभयो, “सेना परिचालनले विरोध प्रदर्शन कम हुनसक्छ वा हामी हिंसा र विरोधको उच्चस्तरले मुलुकका अन्य भागमा फैलिएको देख्न सक्छौँ ।”

मङ्गलबार बाहिर अराजकता फैलिँदा संसद्ले कर वृद्धिसम्बन्धी विवादास्पद विधेयकलाई पारित गरेको थियो । उक्त विधेयक कानून बन्न राष्ट्रपति रुटले हस्ताक्षर गर्नुपर्ने छ । “रुटोसँग अझै पनि विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरेर संसद्मा फिर्ता गरी स्थितिबाट बाहिर निस्कने बाटो छ”, स्मिथले भन्नुभयो, “तर नयाँ विधेयक आउन धेरै महिना लाग्न सक्छ ।”

केन्याको आर्थिक वर्षको प्रारम्भ जुलाई १ मा लागु हुने कर उपायका साथ समय रुटोको पक्षमा छैन

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.