कर्पोरेट/पर्यटन

पर्यटकलाई लक्षित गरेर रामप्रसादमा पाहुनाघर निर्माण

भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ पदमार्गसँगै यहाँका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालेको छ । करिब रु चार करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालिएको हो । अहिले रु ९८ लाख लागतमा यहाँ दुई पाहुनाघर, एक सम्पर्क केन्द्र र सभाहल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

पाहुनाघर निर्माण

त्यससँगै यहाँ सहिद उद्यान र विश्रामस्थल निर्माण गरिने उहाँले बताउनुभयो । कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिररहेको प्रशासकीय अधिकृत पोखरेलले बताउनुभयो । “पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ”, प्रशासकीय अधिकृत पोखरेलले भन्न्भयो, “अहिले यहाँ रु ९८ लाखमा बोलपत्र आह्वान गरेर पाहुनाघर भइरहेको काम अन्तिम चरणमा पुगेको छ ।”

यहाँ नागछागा, गोल्मेराजा गोल्मेरानी भिर, धार्मिक क्षेत्र गङ्गा खोलालगायत ऐतिहासिक क्षेत्र छन् । गाउँपालिकाले यहाँ सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न डाग्बुङ पदमार्ग निर्माण गरिरहेको छ ।

गाउँपालिका क्षेत्रका पर्यटकलाई लक्षित गरेर वैकुण्ठमा पाहुनाघर र सहिद उद्यान निर्माण थालिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । डाग्बुङ पदमार्गसँगै यहाँका मुख्य पर्यटकीय क्षेत्रलाई समेटेर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले जानकारी दिनुभयो । पाहुनाघर तथा सहिद उद्यान निर्माणले यहाँ आउने पर्यटकलाई सहजता थप्ने उहाँ बताउनुहुन्छ ।

गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकाससँगै आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचनासमेत गर्न निर्माण थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । पर्यटनको योजनाबद्ध विकास गरेर आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्न सकिने स्थानीय नवीन राईले बताउनुभयो । पर्यटकको आवगमनलाई सुरक्षित र सहज बासका लागि पाहुनाघर र सहिद उद्यान निर्माणले स्थानीयमा उत्साह थपिएको उहाँले बताउनुभयो ।

“गाउँपालिकाले पर्यटन क्षेत्रको विकासमा गरिरहेको कामले स्थानीयमा उत्साह बढेको छ”, उहाँले भन्नुभयो, “यहाँ धेरै ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र रहेकाले यसको विकास गरेर दिगो आम्दानीको स्रोत बनाउन सक्ने सम्भावना छ । गाउँपालिकाले गरिरहेको कामले हामीमा खुसी थपेको छ ।” सङ्घ सरकारको विषेश अनुदान र गाउँपालिकाको साझेदारीमा निर्माणको काम भइरहेको छ । विस्तृत परियोजा प्रतिवेदन (डिपिआर) अनुसारका थप संरचना निर्माणसँगै कामलाई निरन्तरता दिन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक करोड बजेट विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.