जन सरोकारस्वास्थ्य

कोरोनाले उकालो चढ्न लाग्या हो ?

काठमाडौं उपत्यकामा हैजाको महामारी फैलिनसक्ने चिन्ता बढिरहेका बेला केही दिनयता कोरोना सङ्क्रमण पनि बढ्न थालेको पाइएको छ । कोरोनाबिरुद्धको खोपका कारण अब यसबाट विगतमा जस्तो डराउनुपर्ने अवस्था नभए पनि सचेत भने हुनैपर्ने देखिएको छ ।

छिमेकी मुलुक भारतमा केही दिनयता सङ्क्रमण बढेको छ र नेपालको सीमावर्ती जिल्लाहरुमा भारतबाट फर्कनेहरुमा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको र उनीेहरूमा कोरोनासँगै मलेरिया सङ्क्रमण पनि भेटिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो संख्या विगत लामो समयदेखिको सबभन्दा बढी हो ।

मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय सङ्क्रमित छन् । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४०९ पुगेको छ । सङ्क्रमितमध्ये सङ्क्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर खोप अभियन निरन्तर चलिरहेको छ । सोमबार मात्रै एक लाख २७ हजार ७९२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाइरहेका छन् ।

हाल होम आइसोलेशनमा २०२, संस्थागत आइसोलेशनमा ६ जना र तीन जनाको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले सङ्क्रमण बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button