जन सरोकार

नारायणी अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने

वीरगञ्जस्थित नारायणी अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।

नारायणी अस्पताल

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको विशेष पहलमा नारायणी अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको हो । अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मिर्गाैला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने सहमति भएको छ ।

वीरगञ्ज महानगरपालिका कार्यालयमा भएको छलफलमा नगर प्रमुख सिंहले मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्न सबै प्रकारको भौतिक संरचनासहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । वीरगञ्जसहित मधेस प्रदेशको मिर्गाैला बिग्रिएको र डायलासिसमा रहेका बिरामीलाई प्रत्यारोपण गराउन हरसम्भव सहयोग गर्ने प्रमुख सिंहले बताउनुभयो ।

नारायणी अस्पतालमा सङ्क्रमण नहुने गरी शल्यक्रिया कक्ष बन्न सुरु भएपछि यहाँ आवश्यक जनशक्तिलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालीम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सकसहितको समूहले मिर्गाैलाको प्रत्यारोपण सुरु गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा श्रेष्ठले बताउनुभयो ।

नारायणी अस्पतालको निरीक्षण आफूले गरेको र सबै मिलेर लागे केही महिनाभित्रमा नै मिर्गाैला प्रत्यारोपण हुन सक्ने निर्देशक डा श्रेष्ठको भनाइ छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरञ्जन साहले मिर्गाैला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाँडै मिर्गाैला प्रत्यारोपण सेवा सुरु गराउन आफूहरूले तयारी गरेको बताउनुभयो ।

वरिष्ठ उद्योगपति तथा समाजसेवी अशोक वैद्यले नारायणी अस्पतालको भौतिक संरचना र सेवामा स्थानीय उद्योगी व्यवसायीले सहयोग गर्दै आएको र मिर्गाैला प्रत्यारोपणका लागि पनि सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.