राजनीति

प्रधानमन्त्री ओलीलाई डा. लोहनीको उत्तर- 'तपाई आफैं आफूलाई हटाउन लाग्दै हुनुहुन्छ'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नक्सा जारी गरेपछि भारत आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको र यसमा नेपालकै केही नेताहरुका साथ भएको भन्दै आफूबाहेक नेपालको राष्टियताको पक्षमा बोल्ने कोही नभएको बताएपछि यसको बिरोध भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षमध्ये एक डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीको सो अभिव्यक्तिको आलोचना गर्दै आफूबाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको बताउनुभएको छ ।

सोमबार ट्वीट गर्दै डा. लोहनीले लेख्नुभएको छ- सम्माननीय प्रधानमन्त्रीजी, नेपालको नयाँ नक्सा जारी गरेवापत विदेशी र स्वदेशी मिलेर तपाईलाई हटाउन प्रयास हुँदैछ भन्ने तपाईको आरोप पढियो, तपाईको विश्लेषण गलत छ, किनभने तपाईलाई हटाउन तपाईं आफैं कस्सिएर लाग्नुभएको छ, एकपटक शान्त भएर आफूले आफूलाई हेर्नुहोस् थाहा पाउनुहुनेछ ।’

‘तपाईंले भद्रभलादमी प्रतिपक्ष पाउनुभएको छ जो तपाईंको हत्तपत्ति विरोध गर्दैनन् । नयाँ नक्साको बारेमा तपाईको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईलाई साथ दिएका छन । विचार गर्नुहोस्, कुनै विदेशीको मुख हेरेको भए यो एकता सम्भव हुने थिएन र संसदबाट सिमाना सम्बन्धी प्रस्ताव निर्विरोध पारित हुने थिएन ।’

‘यो देख्दादेख्दै अरुलाई विदेशीबाट सञ्चालित भन्नु तपाईंबाहेक अरु कोही नेपालमा देशभक्त छैनन् भन्नु हो । यो भनाइले तपाई सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ । आफू बाहेक अरु सबैलाई विदेशीबाट सञ्चालित छन् भन्ने दृष्टिकोण तपाईको कमजोर र हतास मनस्थितिको परिचायक हो ।’

‘तपाईको विरोध तपाईको श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी सँस्कार, भ्रस्टाचारलाई राजनीतिको प्रमुख अंग सम्झने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न छुट दिने तपाईंको नवसामन्ती प्रवृत्तिको कारणले हो ।’

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.