जल/वातावरण

कमला र मस्र्याङ्दी नदीमा बहाव बढ्यो, सचेत रहन आग्रह

अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो ।

सिन्धुलीतर्फको बहाव तीन मिटर र सोभन्दा तल अर्थात सिरहा तथा धनुषातर्फ डेढ मिटर बढेको जनाइएको छ । पानीको सतह डेढ मिटर बढ्नुको साथै निरन्तर बढ्दै गएपछि आसपासको क्षेत्रमा ‘अलर्ट’ जारी गरिएको प्रजिअ कँणेलले बताउनुभयो ।

बारअनुसार सेवा

कोरोना कहरका कारण जिल्ला प्रशासन कार्यालय सिरहाले बन्द गरेको नयाँ नागरिकता र नागरिकता प्रतिलिपिसम्बन्धी सेवा अब बारअनुसार सञ्चालन गर्ने भएको छ । कोरोना सङ्क्रमण दर घटेसँगै कार्यालयले यही असार २० गते आइतबारदेखि बारअनुसार सेवा सञ्चालन गर्ने जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणको त्रासका कारण अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको थियो । सङ्क्रमण अझै कायमै रहेकोले सेवाग्राहीहरुको अत्यधिक भीडभाडलाई व्यवस्थापन गर्न सेवाहरुमध्ये नयाँ नागरिकता र प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह पुनः सञ्चालन गर्न लागेको प्रजिअ कँणेलले जानकारी दिनुभयो ।

भीडभाड कम हुने सेवा प्रवाह गर्न एक दिनमा बढीमा तीन वटा स्थानीय तहका सेवाग्राहीलाई सेवा दिइने उहाँको भनाइ थियो । उहाँका अनुसार आइतबार कर्जन्हा नगपालिका र मिर्चैया नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । यसैगरी सोमबार कल्याणपुर नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका, मङ्गलबार गोलबजार नगरपालिका, अर्नमा गाउँपालिका र नरहा गाउँपालिका तथा बुधबार धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका र विष्णुपुर गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराइने छ ।

त्यस्तै बिहीबार औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र नवराजपुर गाउँपालिका तथा शुक्रबार सिरहा नगरपालिकाका सेवाग्राहीले सेवा पाउने जारी सूचनामा उल्लेख छ । सेवा लिन आउने सेवाग्राहीलाई कोभिड–१९ बाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न र स्थानीय तहका जनप्रतिनिधिहरुलाई एक दिनमा तीन जना सेवाग्राहीको मात्र सिफारिस गर्न आग्रह गरिएको छ ।

यसै गरी अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो ।

पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ ।

बाढीले छाब्दीखोला पुल बगायो

अविरल वर्षासँगै आएको बाढीले व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो ।

मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिनुभयो ।

छिर्कनेमा घर पुरियो

अविरल वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका–१२ छिर्कनेमा एक घर पुरिएको छ । बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो । घर पुरिए पनि मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन् । घरमा रहेका पाँच जनाले भागेर ज्यान जोगाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.