बिचार

राजनीति दलहरुको मात्रै ठेक्का होइन रै’छ

नेपालमा राजनीतिक दलहरुको संख्या सयभन्दा बढी छ । ठूला–साना दलहरु फुट्ने र नयाँ दल गठन हुने क्रम जारी रहेको छ र यस क्रममा बामदेव गौतमको पार्टी हालै मात्र स्थापना भएको छ ।

राजनीतिक दलका नेताहरुमा रहेको सत्ता स्वार्थ र शक्ति आर्जनको एकलकाँटे सोचले दलहरुमा विभाजन आइरहको हो र यसले दलहरुप्रति जनताको भरोसा कम हुँदै गएको छ तापनि जनताले विकल्प नपाइरहेका बेला सम्पन्न स्थानीय तहको निर्वाचनपछि मुलुकको राजनीतिलाई फरक धारमा लैजाने संकेत गरेको छ ।

स्वतन्त्र उम्मेदवारले चुनाव जित्नै सक्दैन र आफूहरुलाई कसैले विस्थापत गर्न सक्दैन भन्ने अहंकारी नेताहरुलाई महानगरदेखि नगरपालिकाका वडा र गाउँपालिकासम्मै स्वतन्त्रहरुले पाखा लगाइदिएपछि राजनीति गर्ने ठेक्का दलहरुको मात्र हैन भन्ने स्पष्ट भएको छ ।

जनताका कुरा बोलेर, जनताका एजेण्डा लिएर र जनताले खोजेको योजना अघि सारेर मैदानमा उत्रँदा जनताले रुचाउँछन् भन्ने दरिलो तथ्य त काठमाडौं महानगपालिकाका स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएको ३२ वर्षे युवा बालेन्द्र साह (बालेन)ले अत्यधिक मतका साथ विजयी भएर नै देखाइदिए ।

निर्वाचित जनप्रतिनिधिमध्ये आधाजसो ४० वर्षभन्दा कम उमेरका र ८० प्रतिशतभन्दा बढी नयाँ अनुहार आएका कारण पुराना र स्थापित भनिएका नेताहरुका लागि ठूलो सकस उत्पन्न गरिदिएको छ । अझ राजनीतिक दलहरुको दबदबा रहेको अवस्थामा देशका महत्वपूर्ण पालिकाहरुमा स्वतन्त्र उम्मेदवारले भारी मतान्तरले विजयी भएको घटनाले देशका युवाहरुमा दलबाहिर रहेर पनि राजनीति गर्न सकिन्छ भन्ने सोच विकसित भएको छ । राजनीति गर्न चाहनेहरुमा स्पष्ट नीति, कार्यक्रम र दृष्टिकोण रह्यो भने जनताले रुचाउँछन् भन्ने पनि देखिएको छ ।

अर्को महत्वपूर्ण कुरा जनतालाई भ्रममा राखेर जात, धर्म, भेगका कुरा गर्ने नेताहरुलाई पनि जनताले दह्रो झापड दिएका छन् । विशेष गरी मुलुकको संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा तराई मूलका बालेन्द्र साह र वीरगञ्ज महानगरपालिकामा काठमाडौंका नेवार समुदायका राजेशमान सिंहको विजयले जात, भेगका आधारमा आफ्नो राजनीतिक दुकान चलाइरहनेहरुलाई ठूलो झड्का दिएको छ । देशी–विदेशी शक्तिले नेपाली जनतालाई विभाजित गर्न जतिसुकै लगानी र प्रयास गरे पनि जनता भने मुलुकको जातीय सद्भावलाई कायम राखेका र उनीहरुमा नेपालभित्र रहने सबै नेपाली हुन् भन्ने दह्रो मान्यतालाई पुनः उजागर गरेका छन् ।

राजनीतिक दलका नेताहरु र ती दल तथा नेताका अघिपछि लागेर भाग खान पाइरहेकाहरुले जतिसुकै चिच्याए पनि र जतिसुकै आलोचना गरे पनि अनि एक जातिले अर्को जातिलाई र एक समुदाय वा क्षेत्रकाले अर्को समुदाय वा क्षेत्रलाई भेदभाव गरेको, थिचोमिचो गरको भनेर जतिसुकै आरोप लगाए पनि जनतामा त्यस्तो सोच पटक्कै नरहेको संकेत यी दुईको विजयले देखाएको छ ।

विदेशी शक्तिको निर्देशनमा यो देशमा भाडभैलो मच्चाउन चाहनेहरु अझै पनि जातीय राजनीतिलाई उचालिरहेका छन् । विशेष गरी मधेश (तराई)बाट राजनीति गर्नेहरुले यो कुरा बढी जोडताडका साथ उठाउँछन् भने काठमाडौंको सुविधासम्पन्न महलमा बसेर अरु जातलाई गाली गर्नेहरुको पनि कमी छैन ।

नेपालको दलीय राजनीतिक पद्धतिमा एकले अर्कोलाई होच्याउने, आलोचना गर्ने र अरुलाई नै दोषी देखाएर आफू चोखो हुने र शक्तिमा पुग्ने बाहेक केही ध्याउन्न छैन । जनताका सामान्य समस्यामा समेत चासो नदिएर आफ्नै मात्र स्वार्थपूर्ति गर्न जनताका कुरा ओकल्नेहरुबाट वाक्क भएका जनताले बालेन, गोपाल हमाल र हर्क राईलाई चुनौतिका रुपमा अघिसारिदिएका हुन् ।

कोही पनि नेता शक्तिमा वा सत्तामा पुग्दैमा त्यो लोकप्रिय हुँदैन र उ जनताबाट पूर्णतः अनुमोदित पनि हुँदैन । जनताबाट मनुमोदित त्यो मात्र हुन्छ जसले जनताका समस्या समाधानकाा लागि जनताकै राय–सुझाव अनुसार अघि बढ्छ । जनताका नाममा आफू, आफ्नो दल र कार्यकर्ताका लागि मात्र पोस्ने नीति बोकेका कारण मुलुकको अहिलेको अवस्था निम्तिएको हो । यो परिपाटीको अन्त्यको सुरुवत भएको छ । जनताले अत्यधिक रुचाएका व्यक्तित्वहरु राजनीतिमा आबद्ध हुने क्रम सुरु भएको छ । यसले परम्परागत राजनीतिक दलका नेताहरुको निद्रा हराउन थालेको छ ।

नेपालको राजनीतिमा आफूले राम्रो काम गरेर हैन कि अरुको आलोचना गरेर मात्रै मत पाइन्छ भन्ने भ्रम नेताहरुले राखेका छन् । जतिसुकै शीर्ष तहका नेता भए पनि उनीहरुमा राजनीतिक संस्कारको चरम अभाव छ । उनीहरु आफूले नेतृत्व गरेको राजनीतिक दलहरु नै सबैभन्दा सुप्रिम, अरु सहायक ठान्ने गलत संस्कार पनि छ, जुन मुलुकको विकासका लागि सबभन्दा घातक पक्ष हो ।

कस्तोसम्म अवस्था छ भने आफूले राम्रो काम गरेर जनताको मत जित्नु भन्नुको साटो काठमाडौंमा बसेर गरेको सत्ता र शक्तिको संघर्षलाई गाउँगाउँमै पु¥याउन तल्लिन देखिएका छन् । केही समयअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आयोजना गरेको प्रशिक्षणा कार्यक्रममा ‘स्थानीय तहको निर्वाचनबाट केपी ओलीलाई तह लगाइयो, कांग्रेसले घमण्ड गरे उसलाई पनि तह लगाइन्छ’ भन्नुभयो । यो कुन तहको प्रशिक्षण हो ।

यसले के सन्देश दिन्छ भने गठबन्धनमा रहेका बाहेक अरुसंग राम्रो सम्बन्ध नराख्नु भन्ने हो र केन्द्रका टाउको नेताहरुको ‘इगो’ गाउँगाउँमा पु¥याउनु हो । यसले देश विकास हुन्छ त ? काठमाडौंको सिंहदरबार गाउँ पुर्याएको हो भने सिंहदरबारको लडाई गाउँमा किन ? जनप्रतिनिधिहरुलाई उनीहरुको आफ्नै सुर, ताल र क्षमता अनुसार आपसी समन्वय गरेर गर्न सिकाउने कि फलानोलाई ठेगान लगायौं, अब अर्कोलाई पनि लगाइन्छ भन्दै उक्साउने ?

अहिलेको राजनीतिक पद्धतिले तल्लो तहदेखि नै जनसहभागिता सुनिश्चित गरिएको भए पनि नेताहरुको राजनीतिक संस्कारहीनताका कारण यो पद्धतिले विकास गर्न सिकाउँदैन, भ्रष्टाचार गर्न मात्र सिकाउँछ, जनतालाई विभाजित गर्न सिकाउँछ, गुट बनाउन सिकाउँछ । यही कुचलनबाट वाक्कदिक्क भएका जनताले नेतृत्व परिवर्तनको संकेत दिएका छन्– काठमाडौं, धरान र धनगढीबाट ।

स्वतन्त्रहरुले यी सबलाई तोडेर काम गर्ने सिष्टम बसाउनुपर्छ । सार्वजनिक भएको नीति तथा र्कार्यक्रम र बजेटले यसको संकेत पनि दिएका छन् । बालेन, हर्क र गोपालहरुले यो भ्रष्ट सिष्टम र अति राजनीतिकरणले विषाक्त बनेको जनतालाई अमृतपान गराउन सक्नुपर्छ । जनताले दिएको विश्वासमा खह्रो रुपमा उत्रिएर आफूलाई अब्बल सावित गराउनुपर्छ । उनीहरुले पाएको विजयमा खिसीट्यूरी गर्नेहरुलाई देखाइदिनुपर्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button