राजनीति

जिल्ला समन्वय समिति कास्कीको वार्षिक समीक्षा

जिल्ला समन्वय समिति कास्कीको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा अतिथि तथा वक्ताहरुले सुशासन, विकास र समृद्धिमा जोड दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्व युवा तथा खेलकुद मन्त्री एमं प्रतिनिधि सभा सदस्य जगत विश्वकर्माले सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्न सबै लागि पर्नुपर्ने भन्दै निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र जनताको एकीकृत प्रयासले मात्रै सो सम्भव हुने बताउनुभयो ।

विश्वकर्माले मुलुकको समृद्धिको नेतृत्व नै कास्कीले गर्नसक्ने र गर्नुपर्ने भन्दै सो को लागि हरतरहले प्रयास केन्द्रित गर्न सबैमा आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले विकासका लागि प्रतिवद्धता र कार्यान्वयन महत्वपूर्ण हुने भन्दै विगतमा विकास निर्माणका काममा देखिएका कमजोरी सच्याउँदै नयाँ कार्ययोजनाका साथ काममा खटिन आग्रह गर्नुभयो ।

त्यसै गरी प्रतिनिधिसभा सदस्य दुर्गा विकले जनप्रतिनिधि साझा भएको भन्दै विकासमा राजनीति नगर्न जनप्रतिनिधिहरुलाई सुझाव दिंदै सबैको साझा एजेन्डा विकास भएकोले त्यसैमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभाका उपसभामुख सृजना शर्माले गम्भीर समीक्षा सहित विकासको काममा खटिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले जनअपेक्षा पूरा गर्न सबै पालिकाका प्रतिनिधि र राष्ट्रसेवक कर्मचारी लाग्न आग्रह गर्दै स्थानीय तह कास्कीमा बेरुजुमुक्त पूर्ण समृद्ध जिल्ला निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

पौडेलले अझै पनि केही पालिकाकाहरु आफ्नो कार्य सम्पादनको समीक्षामा तयार नहुनु विकासप्रतिको अनुत्तरदायित्व भएको जिकिर समेत गर्नुभयो ।

कार्यक्रममा कास्कीका पालिकाहरु र विषयगत कार्यालयहरुको तर्फबाट समीक्षा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button