राजनीति

पुनः ब्यूतिएपछि एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै, माधव समूह अनुपस्थित

महाधिवेशन आयोजक कमिटीमा परिणत गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीमा पुनः परिणत भएपछि आज पहिलो बैठक बस्दैछ ।

एमालेको २०७५ जेठ २ गतेको सङ्गठनात्मक हैसियतमा सो बैठक हुन लागेको हो । एमालेभित्रको विवाद समाधानका लागि एमालेको संस्थापन पक्ष एमालेको पूर्ववत् साङ्गठनिक अवस्थामा फर्कन सहमत भएको हो । बुधबार बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले आयोजक कमिटीलाई एमालेको पूर्ववत् केन्द्रीय कमिटीमा रूपान्तरण गरेको थियो ।

पार्टीको सो निर्णयपछि एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी तथा पदाधिकारी नै अब पूर्ण रूपमा क्रियाशील हुने भनिए पनि माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठकमा भाग नलिने अडान राखेका छन् ।

नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बिहीबार सम्पन्न बैठकले केन्द्रीय कमिटी बैठक अवैध भएको भन्दै बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको हो । सो समूहका नेता घनश्याम भुसालले बैठकमा सहभागी नहुने निर्णय गरेको जानकारी दिनुभयो ।

यद्यपि, सहमतिका लागि दुवै पक्ष बेलुका अबेरसम्म छलफलमा बसेका थिए । सो विषयमा नेता सुवास नेम्वाङले छलफल जारी रहेको तर कुनै निष्कर्ष ननिस्किएको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा असार १८ गते बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक राखिएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठकका लागि सबै केन्द्रीय सदस्यलाई पत्राचारसमेत गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button