समाजवादी मोर्चा कम्युनिस्ट एकताको पहल : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिस्ट एकताका लागि पहल गरेको बताउनु भएकोछ ।
आइतबार कम्युनिष्ट पार्टीका संस्थापक नारायणविलास जोशीका ३४औँ स्मृति दिवसको सन्दर्भमा आयोजित स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंगै भवन उद्घाटन समारोहमा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामीले फेरि नेकपातिरै फर्कने भनेका छौँ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका छौँ ।’
त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिस्ट एकीकरणका लागि एकताबद्ध हुन आव्हान गर्दै विगतमा एमाले र माओवादी एकताको सन्दर्भ उठाउनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीले अहिले देशव्यापी स्वरूप लिएको र यो शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्छ भन्ने ठानेर तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गरेको र त्यो एकताले कम्युनिष्ट पार्टीलाई झन्डै दुईतिहाई मत प्राप्त भएको स्मरण गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले त्यो एकतालाई बचाएर राष्ट्र, जनता र समाजवादको हितमा प्रचुर सम्भावना रहे पनि बचाउन नसकिएको र अब हामी एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्