जन सरोकार

एउटा यस्तो पास्नी ! जसले सबैलाई भावुक बनायो

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा धेरै पहिलेदेखि चल्दै आएको छ । तर भक्तपुरको चाँगुनारायणमा गरिएको एउटा अन्नप्राशन भने निकै भावनात्मक र नौलो प्रकारको थियो ।

चाँगुनारायण–४ मा अवस्थित तुलसालय आश्रममा छ महिनाकी स्तुतिको पास्नीमा उपस्थित सबै अतिथिहरूले उनको अवस्थाका बारेमा बताइरहँदा निकै भावुक भएका थिए । स्तुति उनकी आमाकी सातौँ छोरी हुन्, तर गत पुसमा उनलाई जन्म दिएको पाँच मिनेटमा नै आमा गौरा छत्यालको निधन भएको थियो ।

बुवा असक्त, आमाको निधन । स्तुतिका दिदीहरू सबै १३ वर्ष मुनिका । यसरी असहाय बनेकी २० दिनकी स्तुतिलाई तुलसालय हरिहर फाउण्डेशनले उद्धार गरी लालनपालन गरी आएको छ । आज तिनै स्तुतिको शुभ अन्नप्राशन नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुुशीला कार्कीको हातबाट भयो ।

स्तुतिलाई सगुन खुवाएपछि पूर्वप्रधानन्यायाधीश कार्की निकै भावुक हुनुभयो । उहाँले भन्नुभयो, “मेरो सामाजिक जीवनमा म धेरै कार्यक्रममा सहभागी भएँ हुँला तर यस्तो कार्यक्रममा कहिल्यै गएको थिइनँ, यसरी अनाथ आश्रममा रहेकी एक छोरीको अन्नप्राशनजस्तो शुभकार्यमा मलाई सहभागी गराउने आश्रमका सञ्चालक महान् छन् ।”

पूर्वप्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “जसका आमाबुवा छैनन्, जो परिवारको हैसियतमा छैनन्, टुहुरा छन् र समाजका बेसहारा नागरिक छन् उनीहरूको अभिभावकत्व ग्रहण गर्दै बच्चालाई बढाइ, पढाइ उनीहरूको भविष्य बनाउने महान् कार्यलाई कसैले बिर्सनु हुँदैन । त्यस्तै समाजमा जो बेसहारा छन् तिनको सहारा सरकार हो भन्ने दायित्व सरकारले बुझ्नुपर्छ । अनाथ आश्रमबाट धेरै बच्चाहरूले सहारा पाएकाले यस्ता आश्रमलाई राज्यले सहयोग गर्नुपर्छ ।” कार्कीले तुलसालय आश्रमले प्रदर्शन गरेको मानवीय सेवाभावको प्रशंसा गर्नुभयो ।

स्तुतिलाई सगुन खुवाउन पुग्नुभएकी पूर्वप्रदेश प्रमुख एवं माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले बेसहारा बालबालिका र आम नागरिकलाई सहयोग पु¥याउनु नागरिकको कर्तव्य हो भन्दै समाजमा सकारात्मक सन्देश दिन र मानवीय सेवाको भावना जागृत गराउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहने बताउनभुयो ।

नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले बच्चा ल्याएर पढाएर, बढाएर पछि देशका लागि लायक नागरिक बनाउनु ठूलो परोपकारी कार्य हो भन्दै यसलाई निरन्तरता दिन समाज र राज्यको उपस्थिति आवश्यक रहने बताउनुभयो । समाजसेवाको कुनै दायरा हुँदैन भन्दै उहाँले सकेको आफूले पनि केही गर्नुपर्छ र म गर्छु भन्ने भावना जगाउन यस्ता संस्थाले प्रेरणा दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कस्तो अवस्थामा ल्याएका बच्चालाई यो अवस्थामा पु¥याएर उनीहरूको जीवन बनाउने काम सहज छैन, भाग्यमानीले मात्रै यस्ता आमा भेट्छन्, समाजका लागि केही गर्ने मान्छेहरू पनि छन् है भन्ने यो एउटा उदाहरण पनि हो, यस्ता संस्थाका लागि सरकारले पनि केही सोच्नुपर्छ ।”

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले छोराको चाहनाले छोरी जन्माइरहने नेपाली समाजले स्तुतिजस्ता छोरीलाई बेसहारा बनाउने धारणा राख्नुभयो । उहाँले छोरा र छोरी दुवै सन्तान हुन् भावना अझै पनि देशका कुनाकाप्चासम्म पुग्न नसकेकाले त्यो चेतना जागृत गराउन जरुरी रहेको बताउनुभयो । अनाथ आश्रममा गरिएका यस्ता कार्यक्रमहरूले समाजमा असहायहरूका पनि सहारा छन् भन्ने राम्रो सन्देश दिने धारणा राख्नुभयो ।

तुलसालय हरिहर फाउण्डेशनकी अध्यक्ष सरु सुवेदीले यस्ता कार्यक्रमले अनाथ तथा बेसहारा बालबालिका तथा असहाय नागरिकका पनि समाजमा कोही छन् भन्ने सकारात्मक सन्देश दिन सकियोस् र यी बालबालिका पनि आफ्नो सांस्कृतिक अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्तुतिको अन्नप्राशन गरिएको बताउनुभयो ।

हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले गत पुस २९ गते सातौँ सन्तानका रूपमा स्तुति जन्मिइन् । आफ्नो सातौँ सन्तान पनि छोरी नै जन्माएपछि छोरीको मुख पनि नहेरी प्रशव पीडामै आमाको निधन भएको थियो । स्तुतिकोे बिचल्ली भएको खबर पाएपछि फाउण्डेशनका अध्यक्ष सुवेदीले ती शिशुसहित उनका दुई दिदीको उद्धार गरेर ल्याउनुभएको थियो ।

गरिब परिवारका बाबु गोरख छत्याल अशक्त र बिरामी । उहाँको आर्थिक अवस्था निकै कमजोर भएपछि नवजात शिशुसहित छ छोरी पाल्न उहाँलाई कठिनाइ भयो । त्यसपछि दाजुभाइ र आफन्तले सुवेदीलाई खबर गरी उनको उद्धार भएको हो । जन्मेको २०औँ दिनमा उद्धार गरिएको शिशुको एक महिनामा आश्रममै न्वारन गरिएको थियो ।

अध्यक्ष सुवेदी भन्नुहुन्छ, “मेरो आमा पनि म १५ वर्ष हुँदा बित्नुभएको हो, टुहुरो जीवन कस्तो हुन्छ, मलाई राम्ररी थाहा छ, त्यसैले यस आश्रममा रहेका यी छोराछोरीलाई उनीहरूले पाउनुपर्ने माया र अधिकार दिलाउन लागिपरेकी छु । आज पूर्वप्रधानन्यायाधीशबाट अन्नप्राशन भएको छ, भोलि त्यही ठाउँमा स्तुति र यी छोरीहरू पुगुन् भन्ने मेरो प्रार्थना छ ।”

अहिले आश्रममा छ महिनाकी स्तुतिसहित २६ बालबालिका छन् । थप केही बालबालिका केही दिनमा आश्रमसम्म आइपुग्ने उहाँले जानकारी दिनुभयो । यहाँ ७२ वर्ष उमेरसम्मका गरी १७ ज्येष्ठ नागरिक हुनुहुन्छ । ललितपुरको भैँसेपाटीमा स्थापित यो प्रतिष्ठानले गएको पुस महिनादेखि भक्तपुरको चाँगुनारायण–४ मा शाखा स्थापना गरी बेसहारा नागरिक तथा बालबालिकालाई सहारा प्रदान गरी लालनपालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button