राजनीति

प्रधानमन्त्री देउवा मन्त्रीहरुका अगाडि लाचार बनेको हो ?

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेशबारे संसदीय छानबिन हुनुपर्ने माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभामा डेढ घण्टा लामो सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले आफ्नो सरकारलाई इनफ इज इनफ भनेको स्मरण गर्दै वास्तविक इनफ इज इनफ अहिले भएको र यो सैह्य नभएको चेतावनी पनि दिनुभयो ।

आफू प्रधानमन्त्री हुँदा कांग्रेसकै सांसदले इनफ इज इनफ भनेर संसदमा भनेको स्मरण गर्दै ओलीले इनफ इज इनफ त्यो बेला होइन, यो चाहिँ हो । इनफ इज इनफ । इट्स नट टोलरेबल ।

उहाँले प्रधानमन्त्री देउवा मन्त्रीमाथि केही गर्न नसक्ने अवस्थामा पुगेको हो भनी प्रश्न गर्दै बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भएको र निश्चित घरानालाई लाभ हुने गरी करका दरहरु हेरफेर गरेको आरोप लगाउँदै यसबारे छानबिन गर्न संसदीय समिति बनाउन माग गर्नुभएको हो ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवा मन्त्रीहरुसंग तर्सिएको हो भन्दै एउटा मन्त्रीमाथि प्रश्न उठ्दा गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बसेको आरोप समेत लगाउनुभयो ।

अर्थ मन्त्रालयले आइतबार मात्र सीसीटीभी फुटेजको रेकर्ड १३ दिन मात्र रहन्छ भनेकोमा आक्रोश व्यक्त उहाँले फुटेज हटाउने को हो र कसको आदेशमा किन कसले डिलिट गर्न भनेको थियो भन्ने थप प्रश्न गर्नुभएको थिया ।

अध्यक्ष ओलीले भन्नुभयो ‘फुटेज डिलिट गर्न पाइन्छ ? कर्तव्य हुन्छ, आफ्नो स्वच्छता प्रमाणित गर्ने, आउनुस् फुटेज हेरौं, आउनुस् छानबिन गरौं मन्त्रीले यो भन्न सक्नुपथ्र्यो, तर किन माग्दैमा दिने भनेर ललकार्ने ?’

त्यस्तै गरी अध्यक्ष ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का सम्बन्धमा कहिले के भयो भन्ने संसदलाई जानकारी दिन समेत प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ ।

उहाँले भन्नुभयो एसपीपीका सम्बन्धमा सत्यतथ्य के हो ? सम्माननीय प्रधानमन्त्रीज्यूले यस गरिमामय सदनलाई दिन दिनांक, कसको हस्ताक्षर ? कसको निर्णय ? कसले सम्प्रेषित गर्‍यो ? सबै जानकारी दिनुपर्‍यो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button