आठ लोकस्रष्टालाई ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’को सम्मानार्थ सदस्यता
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ८ जना लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ । सोमबार बिजी ब्याङ्क्वेट गोंगबुमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले सम्मान सहित सदस्यता प्रदान गरेको हो ।
![Honored Membership](https://www.nepaljapan.com/wp-content/uploads/2023/07/Honored-Membership-e1688464976466.jpg)
‘सम्मानार्थ सदस्यता’ प्राप्त गर्नेमा नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाल रहनुभएको छ ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पूर्व अध्यक्ष तथा संरक्षक प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोतम न्यौपाने, चन्द्र शर्मा, सल्लाहकार नारायण रायमाझी उज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसि कोइराला, रमेश बाबु श्रेष्ठ, कृष्ण कँडेल, राधाकृष्ण पाठक, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर लगायतले सम्मान ‘सम्मानार्थ सदस्यता’ प्रदान गरे ।
वरिष्ठ लोकगायिका हरिदेवी कोइराला अवस्थता र रामप्रसाद खनाल अमेरिकामा रहेकोले कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा सम्मानित गायक कुमार बस्नेत, शम्भु राई, प्रेमराज महत लगायतले सम्मानका लागि प्रतिष्ठानलाई धन्यवाद दिदै आफ्नै घर ठानेको प्रतिष्ठानमा औपचारिक रुपमै भित्रिन पाउँदा खुसी मिलेको बताउनुभयो ।
त्यस्तै प्रमुख अतिथि अम्बर विरही गुरुङले प्रतिष्ठानको वर्तमान कार्यसमितिले उल्लेख्य रचनात्मक काम गरेको र यसरी अग्रजलाई सम्मान गर्दै प्रतिष्ठानको ओझिलो परिवार बनाउन तल्लिन अध्यक्ष लगायत सिंगो कार्यसमितिलाई धन्यवाद दिनुभयो ।
पूर्व अध्यक्ष एवं संरक्षक प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, नारायण रायमाझीले प्रतिष्ठान र लोक गीतसंगीतको बिषयमा धारणा राख्नुभएको थियो ।
गायक कृष्ण गन्धर्व र प्रेमदेव गिरीले गीत गाएर खुसी व्यक्त गरेको कार्यक्रममा सम्मानार्थ सदस्यहरुको कालजयी गीत गायक गायिका पशुपति शर्मा, रामजी खाँड, राधिका हमाल, कृष्ण रेउले, रमेशराज भट्टराई, पूर्णकला बिसी, शिरीष देवकोटा, जुना श्रीष, शान्ति श्री, रेशम निर्दोश लगायतले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रजको सम्मान हामीले नगरे कस्ले गर्ने भन्दै अग्रजको सम्मान बुवाआमा र भगवानको सम्मान भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्