एमालेका मन्त्रीहरुले सम्हालेका मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेकपा एमालेबाट सहभागी आठजना मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोक्नुभएको छ ।
नेकपा एमालेबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उहाँहरूले सम्हाल्नुभएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री प्रचण्ड स्वयंले सम्हाल्ने गरी तोक्नुभएको हो ।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले बिहिबार जनाएको छ ।
मौजुदा मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्हाल्नु भएको थियो ।
यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्न प्रधानमन्त्री दाहाल समक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) बमोजिम राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्