राजनीति

गगन थापाले अर्थमन्त्री शर्माको राजीनामा मागेपछि गठबन्धनमा हलचल

बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र उनकै चासोमा केही सीमित व्यक्तिलाई लाभ पुग्ने गरी करका दर हेरफेर गरेको भन्दै विपक्षी दले छानबिनको माग गरिरहेको छ ।

गगन थापा

सोमबार संसदको बैठकमा पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यस विषयमा संसदीय छानबिन हुनुपर्ने माग गर्नुभयो ।

लगत्तै नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

सोमबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्ने बताउनुभएको हो ।

अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरु उठेकाले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो । अर्थमन्त्रीले स्वइच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने उहाँको भनाइ छ । यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो– “अहिले अर्थ मन्त्रालयले सीसीटीभि फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडी मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसबारेमा एउटा एक्शनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनुपर्छ ।”

तत्काल छानबिन गर्नुपर्छ, हाम्रो आफ्नै कार्यविधि उहाँले बताउनुभयो । “हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सीसीटीभि फुटेज राख्ने कुरा भन्छ । त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ । यसको करको दर भनेको चाहीँ सामान्य कुरा होइन ।”

महामन्त्री थापाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झन चौतर्फी प्रश्न उठेको बताउनुभयो । अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफुहरुले अनौपचारिक रुपमा भनिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

कसैले सामान्य मानवीय त्रुटी भयो भनेर यसबाट उम्कन नसक्ने बताउँदै थापाले भन्नुभयो “सदनमा यति कुरा उठिसकेपछि यत्तिकै गयो भनेर हुँदैन । यस्तो गर्यौं भने अत्यन्त यसको एउटा नजिर बस्छ । जे गरे पनि हुन्छ भन्ने कुरा रहन्छ ।”

“छानविन गरिनु अर्थमन्त्रीको पनि हीतमा छ । तत्काल उहाँले राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्छ । प्रधानमन्त्रीले उहाँलाई अहिले हटाएर यसको छानबिन गराउनुपर्छ । छानविन गरेपछि दोषी ठहर भएमा सजाय भोग्न पनि तयार हुनुपर्छ । दोषी होइन भने देशलाई, जनतालाई थाहा हुन्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.