राजनीति

नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने अध्यक्ष ओलीको विश्वास

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कृषि तथा पशुपंक्षी विभागको बैठकलाई मंगलबार सम्बोधन गर्दै उहाँले देशभित्र रहेका नेपालीले नै मुलुकको विकास गर्न सक्ने बताउनुभयो ।

विभिन्न देशमा गएर विकास निर्माण गरेका नेपालीले आफ्नो देश पनि बनाउन सक्दैनन् भन्ने प्रश्न नहुने भन्दै अध्यक्ष ओलीले बाहिर गएका बाहेकका नेपालीले नेपाल बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालका २४ लाख जनसङ्ख्या बाहिर गएका छन् । त्यो २४ लाख जनसङ्ख्या नहुँदा पनि नेपालमै रहेका जनसङ्ख्याले मुलुकको विकास गर्न सक्दछ”, उहाँले भन्नुभयो, “विभिन्न देशमा गएर पुल, एयरपोर्ट, अनेक संरचना बनाइ दिएका छन् । आफ्नो देशमा बनाउन सक्दैनन् भन्ने कुरा हुन्छ ?”

मुलुक बाहिर गएका दक्ष जनशक्तिलाई नेपाल फर्काउनु पर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भन्नुभयो, “हामी बाहिर गएर नेपालीलाई बलजफती फर्काउन सक्दैनौँ । मुलुक बाहिर जाने प्रवृत्तिलाई रोक्ने, बाहिर जाने आकर्षण कम गर्ने र मुलुकभित्रको आकर्षण वृद्धि गर्ने तथा बाहिरबाट आएपछि जान मन नलाग्ने स्थिति बनाउने गर्नुपर्दछ ।”

उहाँले ६० प्रतिशत जनसङ्ख्यालाई कृषि क्षेत्रमा प्रवेश गराउनुपर्नेमा जोड दिँदै कृषि अर्थतन्त्र बलियो भएको हाम्रो जस्तो समाजलाई कसैले पनि प्रहार गर्न नसक्ने दाबी गर्नुभयो । “कृषिमा आधारित मजबुद अर्थतन्त्रलाई अरुले केही गर्न सक्दैनन् । त्यसको अलिकति आयात तथा निर्यात घटाउन सक्ला”, उहाँले भन्नुभयो, “हामी कृषिमा निर्भर भयौँ भने आर्थिक मन्दीले कुनै घुडा टेकाउन सक्दैन । दैनिक रुपमा जीवन चलाउनका लागि कसैले पनि केही सक्दैन ।”

श्रमको प्रयोग अहिले पनि उपयुक्त तरिकाले हुन नसकेको भन्दै अध्यक्ष ओलीले श्रमलाई ठीकसँँग प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आज पनि मानव जातिले भोगिरहेको सबैभन्दा ठूलो समस्या भोकमरी र गरिबीको समस्या नै भएको बताउनुभयो । अध्यक्ष ओलीले समाजलाई न्यायपूर्ण बनाउनको लाग सबै मान्छेलाई भोकको चिन्ताबाट मुक्त गराउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.