अर्थ

कर्णाली र सुदूरपश्चिम प्रदेश समृद्धिको आयोजना बेतन कर्णाली

अथाह स्रोत भएर पनि सदुपयोग हुन नसक्दा पिछडिएको क्षेत्रमा परेको कर्णाली र सुदूरपश्चिम प्रदेशको समृद्धिको आयोजनाका रुपमा हेरिएको बेतन कर्णाली जलविद्युत आयोजना आगामी पुसदेखि निर्माण चरणमा प्रवेश गर्ने भएको छ ।

चार सय ३९ मेगावाटको क्षमताको सो आयोजनाको प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले हाल निर्माणपूर्वको तयारीका लागि आवश्यक कार्य सम्पन्न गरिरहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाम र कर्णाली प्रदेशको सुर्खेतको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा बन्न लागेको यो अर्धजलासययुक्त आयोजना हो । आयोजनाको ड्याम (बाँधस्थल) अछामको ढकारी गाउँपालिका–६ मालुमेला तथा सुर्खेतको चौकुने गाउँपालिका–६ र पावरहाउस (विद्युत्गृह) अछामको ढकारी गाउँपालिकामै पर्ने टटालीघाटमा रहनेछ । डाइभर्सन टनेल चौकुने गाउँपालिकाको वडा नं ६ मा पर्दछ ।

कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने करिब छ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो ।

आयोजनाको बेस क्याम्प हाउस, पहुँच सडक, टेस्ट टनेल निर्माण, जग्गा अधिग्रहण तथा मुआब्जा वितरण, वातावरणीय प्रभाव मूल्याङ्कन, सार्वजनिक सुनुवाइ, बेलिब्रिज निर्माणलगायतका कार्य निर्माणपूर्वको तयारीअन्तर्गत पर्दछन् । आयोजनाका प्रबन्ध निर्देशक दीपक रौनियारले आधारभूत तयारी सबै सम्पन्न गरेर जनवरी २०२३ देखि निर्माण सुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँका अनुसार आयोजनाको साइट क्याम्प निर्माण पूरा भएको छ भने टेस्ट टनेल खन्ने काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको इन्जिनियरिङ कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) तयार गर्दैछ । इआईए प्रतिवेदन तयार भएपछि साउन पहिलो साता प्रवद्र्धक कम्पनीले साउन पहिलो साता सार्वजनिक सुनुवाइ सम्पन्न गर्नेछ ।

आयोजनास्थलसम्म पुग्न अछामतर्फबाट १८ किमी पहुँच सडक निर्माण कार्य पूरा भएको छ । सुर्खेतखण्डमा १४ किमीमध्ये १० किमी पूरा भएको छ । पहुँच सडक निर्माणपछि कर्णाली नदीमा बेलिब्रिज निर्माण गरिनेछ ।

हाल आयोजनास्थलमा अछाम सुर्खेत जोड्ने झोलुङ्गे पुल सञ्चालनमा छ । आयोजनाका प्रमुख उपेन्द्र न्यौपानेले भदौदेखि बेलिब्रिज निर्माण थालिने बताउनुभयो । पुल बनेपछि यातायातका साधन वारपारमा सहज हुने उहाँको विश्वास छ ।

मालुमेलामा १४० मिटर अग्लो बाँधबाट २१ किमी लामो कृत्रिम ताल बन्नेछ । उक्त तालमा मत्स्यपालन, पर्यटन व्यवसाय सञ्चालन गर्न सकिनेछ । “सुर्खेत, कैलाली र अछामको विकासमा यो आयोजना कोसेढुङ्गा सावित हुनेछ ।

यी जिल्लामा पर्ने कर्णाली नदी आसपासका बस्ती विकासका दृष्टिले निकै पछाडि परेका छन्” आयोजना प्रमुख न्यौपानेले भन्नुभयो, “पहुँच सडक, वैकल्पिक सडक, विद्युत् प्रसारण लाइन निर्माण, जलाशयजस्ता संरचनाले यस क्षेत्रको विकासमा मुहार फेर्ने निश्चित छ, आयोजनाले स्थानीयवासीलाई रोजगारीको पर्याप्त अवसर दिएको छ ।”

आयोजनाबाट सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको वडा नं ७ र अछाम जिल्लाको ढकारी गाउँपालिकाको ६, तुर्माखाँद गाउँपालिकाका ३,४ र ५ वडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् ।

आयोजनाका लागि आवश्यक पर्ने विद्युत् आपूर्ति (कन्स्ट्रक्सन पावर) कम्पनीले कैलालीको सुगरखालदेखि करिब ३० किमी दूरीमा ३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया अघि बढिसकेको छ । पाँच सय ७० मिटर टेस्ट अडिट टनेलमध्ये करिब ५०० मिटर पूरा भएको जनाइएको छ ।

१७२.७५ मिटर लम्बाइ र ९० मिटर उचाइका बाँध (ड्याम) प्रस्ताव गरिएको छ । बाँधमा छ÷छ वटा गेट राखिनेछ । बाँधको पानीलाई दुई किमी लम्बाइ र आठ मिटर ब्यासका तीन वटा सुरुङबाट विद्युत् उत्पादनगृहसम्म पु¥याइनेछ । बाँधदेखि दुई किमी तल भूमिगत विद्युत्गृह बन्नेछ ।

पावरहाउसमा ७१.६८ मेगावाटका छ वटा टर्वाइन रहनेछन् । आयोजनाका लागि बाँध निर्माण गर्नुपूर्व कर्णाली नदीलाई ९.८ मिटर ब्यास, ५८४ मिटर तथा ७२७ मिटर लम्बाईका दुई वटा डाइभर्सन टनेलबाट मोडिनेछ । आयोजनाले विद्युत् खरिद सम्झौता (पीपीए) का लागि प्रक्रियाअघि बढाइसकेको छ ।

आयोजनाका लागि अछाममा एक हजार ८४४ र सुर्खेतमा करिब ४०० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाका प्रमुख न्यौपानेले अछाममा मुआब्जा वितरण प्रक्रिया सुरु भएको र सुर्खेतमा मुआब्जा निर्धारणको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले यसअघि नै शेयर संरचनाको टुङ्गो लगाइसकेको छ । शेयर संरचना अनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चयकोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत, प्रभावित बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अतिविपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ ।

रु ८८ अर्ब लागत रहेको यो आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यहाँबाट उत्पादित विद्युत्ले पहिलो वर्ष रु १४ अर्ब ५० करोड ३१ लाख १२ हजार तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि रु १८ अर्ब ३७ करोड २१ लाख आठ हजार वार्षिक आय हुने अनुमान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनियरिङ कम्पनी लिमिटेडले सन् २०१७ अक्टोबरदेखि यसको अध्ययन थालेको थियो । सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष खड्कबहादुर विकले आयोजना छिटो निर्माण गर्न पहुँच मार्गलगायतका योजनामा गाउँपालिकाको सहभागिता रहेको बताउनुभयो ।

“यो कर्णालीमात्र नभई सुदूरपश्चिमको विकट क्षेत्रलाई समृद्ध बनाउने आयोजना हो”, उहाँले भन्नुभयो, “विभिन्न सर्भे÷अध्ययन, निर्माणपूर्वका तयारीहरु सकेर छिटोभन्दा छिटो जलविद्युत आयोजनाको मुख्य काम थालनी गर्नुपर्छ, ढिला गर्नुहुँदैन ।” अध्यक्ष विकले आयोजना निर्माणका लागि स्थानीय तहको सदैव सहयोग रहने बताउनुभयो ।

४०० केभी प्रसारण लाइन पनि बन्दै

कर्णाली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन निर्माणको प्रक्रिया पनि सुरु भइसकेको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले कालीकोटको फुकोटदेखि सुदूरपश्चिम कैलालीमा पर्ने नेपाल–भारत सीमासम्म १२१ किमी लामो ४०० केभीको प्रसारण लाइन निर्माण गर्न लागेको हो । यो नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।

वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) समेत भइसकेको प्रसारण आयोजना साउनदेखि निर्माणमा जानेछ । आयोजनाअन्तर्गत फुकोट, बेतन र दोदोधरामा सबस्टेशन निर्माण गरिनेछन् । कालीकोटको खाँडाचक्र नगरपालिका–११ मा ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण हुँदैछ ।

कर्णाली नदी बेसिनमा निर्माण हुने अन्य आयोजनासमेत गरी कूल दुई हजार ६०० मेगावाट विद्युत् उक्त प्रसारण लाइनले प्रवाह गर्ने जनाइएको छ । प्रसारण लाइनको पहिलो खण्ड कालीकोटको फुकोट सबस्टेशनदेखि सुर्खेतको बेतन सबस्टेशनसम्म ५५ किलोमिटर हुनेछ । सुर्खेतको चौकुनेदेखि कैलालीको बर्दगोरियामा प्रस्तावित दोस्रो खण्ड दोदोधरा सबस्टेशनसम्म ३९ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै तेस्रो खण्डअन्तर्गत दोदोधरा सबस्टेशनदेखि नेपाल–भारत सीमा क्षेत्र कैलालीको भजनी नगरपालिका–५ कर्मादेवसम्म २७ किलोमिटर लामो प्रसारण लाइन बन्नेछ । दोदोधरा–बेतन–फुकोटखण्डको निर्माण २०८३ कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button