माधव नेपाललाई साथ दिएका आले, माधवबाटै अस्वीकृत
नेकपा एमाले विभाजन गर्दा माधवकुमार नेपाललाई दह्रो साथ दिनुभएका पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रेम आले नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा पर्नुभएन ।
पार्टीको महाधिवेशनले माधवकुमार नेपाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेपछि शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको केन्द्रीय कमिटीबाट प्रेम आलेलाई हटाएको छ ।
आले यसअघि सो पार्टीको पोलिटब्यूरो सदस्य हुनुहहुन्थ्यो । तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन ।
पार्टी प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाले केन्द्रीय सदस्यबाट आलेलाई हटाइएकाले सूचीमा उहाँको नाम समावेश नगरिएको बताउँदै महाधिवेशनमा नआउनेलाई केन्द्रीय कमिटीमा नराख्ने निर्णयमा आले पनि पर्नुभएको हो ।
डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य आले एमाले विभाजन भएर २०७८ मा एकीकृत समाजवादी बन्दा माधवकुमार नेपालाई साथ दिनुभएको थियो । तर, पछिल्लो ८ महिनादेखि आफू पार्टी कामबाट निष्क्रिय रहेको उहाँले बताउनुभयो ।
आफू केन्द्रीय कमिटिमा नपरेकोमा कुनै गुनासो नरहेको बताउँदै आलेले भन्नुभयो, “महाधिवेशनमा म सहभागी नै भएको छैन । मैले बहिष्कार गरेको हो । आफूले बहिष्कार गरेको महाधिवेशनले गरेको निर्णयको कुनै अर्थ रहँदैन ।”
प्रतिक्रिया राख्नुहोस्