राजनीति

देउवाको विपक्षमा सभापतिको साझा उम्मेदवारको पहल

नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरूबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ । सोही क्रममा शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल गर्नुभएको छ ।

बैठकमा राष्ट्रिय राजनीति र कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । सकेसम्म समग्र पार्टीमा एकताको प्रयास गर्ने नभए कम्तीमा पनि आफूहरूबीच एकताका साथ अघि बढ्नुपर्ने प्रस्तावमा छलफल भएको र उक्त छलफललाई निरन्तरता दिने सहमति भएको उहाँले बताउनुभयो ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरू केसी, डा रामशरण महत, सुजाता कोइराला, डा शेखर कोइराला, बलबहादुर केसी सहभागी हुनुहुन्थ्यो । उहाँहरूमध्ये नेताहरू केसीद्वय र डा महत बाहेक सबैले सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ भने सहमति हुन नसके अन्य नेताहरूले पनि सभनपतिमा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.