राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले गठबन्धन : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन भएको बताउनुभएको छ ।
खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले मंगलबार आयोजना गरेको ‘छात्रावृत्ति वितरण समारोह’ मा बोल्दै नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन दिन कांग्रेस एमाले गठबन्धन निर्माण भएको बताउनुभएको हो । कांग्रेस र एमाले मिलेर आलोपालो सरकार चलाउने सम्झौता भएको उहाँको भनाइ छ ।
“मैले विगत सात-आठ महिनादेखि मुलुकमा स्थिर सरकार र सुशासन चाहिन्छ भनेर भन्दै आएको थिएँ, आज त्यो पूरा हुने क्रममा छ, कांग्रेस र एमाले मिलेर देशलाई सुशासन दिन्छौँ, संविधानमा भएका कमजोरी सुधार्दै मुलुकलाई आर्थिक विकासको गतिमा अगाडि बढाउछौँ”, उहाँले भन्नुभयो ।
उहाँले प्रधानमन्त्रीलाई विश्वासको मत लिने अधिकार संविधानले दिएकाले राजीनामा दिनुपर्छ भन्नु कुनै फाइदा नभएको उल्लेख गर्नुभयो । डा कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार बन्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्