जन सरोकार

इच्छाकामनाका २२ चेपाङ परिवारलाई घर (भिडियो)

चेपाङ आवास कार्यक्रम अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण गरी हस्तान्तरण गरिएको छ। संघीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्नका ती घर निर्माण गरिएका हुन् ।

मंगलबार गाउँपालिकाको वडा नम्वर ७ मा आयोजित कार्याक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो ।

पालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले दिनुभयो ।

पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर नेपाल सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो,उहाँले भन्नुभयो,टोल र वडाको छनोटका आधारमा उनिहरुको घर निर्माण गरेका हौं ।’

अध्यक्ष गुरुङले निर्माण सम्झौता अघि घर र उनिहरुको अवस्थाको स्थलगत अनुगमन समेत गरिएको बताउनुभयो । ‘घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।’

उहाँले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

पालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष माया सिलवाल धेरैको आकांक्षा भएपनि विहान बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताउनुभयो । उहाँले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनी सुवेदी एण्डा सिलवाल कन्सटक्सन प्रा.लीलाई धन्यबाद दिनुभयो ।
गाउँपालिकाले आगामी आर्थिक बर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।

उहाँले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरुलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताउनुभयो । पालिकाले आगमी आर्थिक बर्षका लागि ३ करोड ३० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

बर्षैदेखि खरको झुप्रोमा बस्दै आउनुभएका इच्छाकामना गाउँपालिका ७ सुन्दरबस्तीका अइतराम प्रजा घाम पानीमा अरुको घर ओत लाग्न जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले पालिकाले दुई कोठाको घर निर्माण गरिदिएपछि खुसी लागेको भन्दै अव जीवनयापनमा सहज हुने बताउनुभयो ।

इच्छाकामना गाउँपालिका–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताउनुभयो । उहाँले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएको बताउनुभयो ।

‘गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छजनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ’, उहाँले भन्नुभयो । इच्छाकामना गाउँपालिकामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.