विश्वका सर्वाधिक लोकप्रिय खेलाडी लियोनल मेसीले नेतृत्व गरेको अर्जेन्टिनाले कोपा अमेरिका कपको उपाधी जितेको छ । सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो ।
आइतबार विहान सम्पन्न कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा ब्राजिललाई १(० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पार्दा मेसीको नाममा पहिलो उपाधी पनि परेको छ ।
अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो ।
रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।
यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो । २००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।
प्रतियोगितामा अर्जेन्टिनी कप्तान मेसी सर्वाधिक गोलकर्ता पनि रहे । अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे । त्यसो त कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।
प्रतिक्रिया राख्नुहोस्