जन सरोकार

साउनदेखि निषेधाज्ञा कडा हुनसक्ने संकेत- भावी रणनीति तय गर्दै प्रजिअहरु

निषेधाज्ञा खुकुलो पार्नुअघि उपत्यकामा दुईसय ५० जनासम्म झरेको सङ्क्रमित दर शनिवारसम्म आइपुग्दा चारसय पुगेको

एक साताको खुकुलो निषेधाज्ञासंगै सङ्क्रमण बढेपछि यसको नियन्त्रण र व्यवस्थापनका लागि राजधानी काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरु यसको समीक्षामा जुटेका छन् ।

यही असार २२ गतेदेखि ३१ गते असार मसान्तसम्मका लागि थप गरिएको निषेधाज्ञा खुकुलो पार्नुअघि करिब उपत्यकामा दुईसय ५० जनासम्म झरेको सङ्क्रमित दर शनिवारसम्म आइपुग्दा चारसय पुगेको छ ।

विज्ञहरुले खतरा नटरेको भन्दै सचेत पारिरहेका बेला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु यसको नियन्त्रण तथा व्यवस्थापनका लागि छलफलमा जुटेका हुन् । सो सम्वन्धमा सम्वन्धित जिल्ला कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (डि–सिसिएमसी)बीच छलफल भइरहेको छ ।

पछिल्लो पटक खुकुलो पारिएको निषेधाज्ञामा २५ जनासम्म भेला हुन दिने निर्णयसँगै विवाह ब्रतबन्धका नाममा पार्टी प्यालेस र होटलमा भोज खुवाउने लहर बढेको छ । डि–सिसिएमसी प्रमुख एवं काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा पालना भए नभएको सम्वन्धमा नियमित अनुगमन भइरहेको बताए पनि सयौँजना जम्मा पारी भोजभतेर खुवाउनेदेखि किनमेलका लागि बजारक्षेत्र होस वा सार्वजनिक यातायातमा अत्यासलाग्दो भीडभाड देखिन्छ ।

जारी निषेधाज्ञामा बाक्लो भीडभाड लाग्ने स्थानहरु उद्यान, पार्क, चिडियाखाना, होटल तथा पार्टी प्यालेसमा भेला तथा भोज, शैलुन पसल, ब्यूटिपार्लर, ब्यायामशाला, पौडी पोखरी र चलचित्र हल लगायतका क्षेत्रहरु सचालनमा निषेध गरेको छ । त्यसका अतिरिक्त ब्यापारिक केन्द्र, बजारक्षेत्र, सपिङ मल, खाद्य तथा किराना र कपडा पसलहरु साँझ ६ बजेसम्मका लागि मात्र खोल्ने अनुमति दिएको छ ।

ललितपुर र भक्तपुरमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या अहिले पनि दैनिक एकसयम भन्दा माथि उक्लेको छैन । सरदर ४० देखि ८० जनासम्मको हाराहारिमा छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सङ्क्रमणबाट जोगिन नागरिकहरु स्वयम् सतर्क र सचेत हुनुपर्ने बताउनुहुन्छ ।

कोरोना सङ्क्रमणको दर हालकै अवस्थामा बढ्दै जाँदा जारी निषेधाज्ञा असार मसान्तपछि थप गर्दै लैजाने वा अन्त्य गर्ने विषयमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल भइरहेको जनाइएको छ । तर पनि संङ्क्रमण घटाउने सम्वन्धमा स्पष्ट रणनीति बन्न सकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.