श्रीलंकामा बिहीबारबाट जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ ।
यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपाली समय अनुसार बिहान सवा १० बजेबाट सुरु हुनेछ । नेपाल आज पाकिस्तानलाई पराजित गर्दै जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा रहेको छ भने पाकिस्तान पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने सुरमा रहेको छ ।
त्यस्तै समूह ‘बी’ अन्तर्गत नै आज हुने अर्को खेलमा भारत ‘ए’ र युएई भिड्दै छन् । प्रतियोगिता असार २८ गतेदेखि साउन ७ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र संयुक्त अबर इमिरेट्स (युएई) छन् ।
त्यस्तै समूह ‘बी’मा आयोजक श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान रहेका छन् । आज आफनो पहिलो खेल पाकिस्तानका ‘ए’ टोलीसँग खेल्न लागेको नेपालले आफनो दोस्रो खेल साउन १ गते भारत ‘ए’ सँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले साउन ३ गते युएईसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, देव खनाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, श्याम ढकाल, सूर्य तामाङ, पवन शर्राफ र सन्दिप जोरा छन् ।
प्रतिक्रिया राख्नुहोस्